इटहरीः प्रदेश २ सरकारले हरेक वर्ष माघ ५ गते मनाउँदै आएको बलिदानी दिवस यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

सो अवसरमा आज २ नम्बर प्रदेशभर सार्वजनिक विदा दिइएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ । २०६३ साल माघ ५ गते सिरहाको लहानमा आन्दोलनका क्रममा भएको प्रहरी हस्तक्षेपमा परी रमेश महतोले ज्यान गुमाएका थिए । सोही घटनापछि मधेश आन्दोलन देशव्यापी रुपमा अझ सशक्त भएको भन्दै मधेशमा यस दिनलाई बलिदानी दिवसका रुपमा मनाउन थालिएको हो ।

विगतमा लहानमा मात्र सिमित रहेको यो दिवस यस वर्ष प्रदेशभर भव्यताका साथ मनाउन लागिएको हो । २०६३, २०६४ र २०७२ सालमा भएका मधेस आन्दोलनमा एक सय तीन जनाले सहादत प्राप्त गरेका छन् ।