इटहरीः स्वदेशमा रोजगारीको अभावका कारण श्रम बेच्न जवानी छँदै विदेश पलायन हुनु समसामयिक नेपाली समाजको तितो यथार्थ हो । यस्तै लहडमा बहकिएर खाडीको मरुभूमिमा पुगेर अनेकौँ ठक्कर खाई पुनः आफ्नै माटोमा पसिना बगाउने प्रण गरी फर्केका एक पात्र हुन् ओभरसियर धर्मराज पौडेल । धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ स्थित सिधुवाको ग्रामिण परिवेशमा २०४९ सालमा जन्मिएका पौडेलले सन् २०१३ मा सुनसरीको इटहरीस्थित सुष्मा कोइराला मेमोरियल इन्जिनियरिङ कलेजबाट ओभरसियर उत्तिर्ण गरे । ओभरसियर उत्तिर्ण गर्नासाथ उनी रोजिरोटीको जोहो गर्न भन्दै कतार पुगे । कतारको ओमेगा इन्जिनियरिङ डब्ल्युएलएल मा उनले चिफ सर्भेयरका रुपमा निरन्तर ६ वर्ष काम गरे ।
यसरी जन्मियो महालक्ष्मी फुड एन्ड प्रोडक्सन प्रा.लि.
विदेशी भूमिमा अतिसय गर्मीमा पसिना बगाउँदै गर्दा उनलाई मातृभूमिको यादले सताउन थाल्यो । यहाँको प्राकृतिक शीतलता, वन, पाखा, हावापानी सबै उनलाई प्यारो लाग्न थाल्यो । यसपछि उनले आफ्नै देशमा उपलब्ध प्राकृतिक श्रोतलाई जीवन जिउने माध्यम बनाउने योजना बनाए । यसै सिलसिलामा कतारमै रहेका आफ्नै साढु दाइ प्रविण कार्कीसँग मिलेर उनले आफ्नै देशमा अर्गानिक खाद्यवस्तुहरुको आधुनिक प्रविधिबाट उत्पादन तथा बिक्री वितरण गर्ने जुक्ति निकाले । कार्की पनि लामो समय वैदेशिक रोजगारमा बिताएका व्यक्ति हुन् । अर्थशास्त्र र समाजशास्त्रमा स्नातक उत्तिर्ण गरेका कार्कीले कतार एयरवेजमार्फत् अहमद इन्टरनेसनल एयरपोर्टमा हाउस किपिङ सुपरभाइजरका रुपमा आठ वर्षसम्म काम गरेका छन् ।
दुवै जनाको संयुक्त प्रयासले उनीहरुको योजनालाई अन्ततः मूर्त रुप प्रदान गर्यो । दुवै युवाहरुको दूरदर्शिता र अथक परिश्रमको प्रतिकस्वरुप गत मंसिर २७ गतेदेखि सुनसरीको इटहरीस्थित हलगडामा रहेको यातायात व्यवस्था कार्यालयको ठिक उत्तरतर्फ महालक्ष्मी फुड एन्ड प्रोडक्सन प्रा.लि. सञ्चालनमा आएको छ । अत्याधुनिक प्रविधिको उच्चतम प्रयोगबाट अर्गानिक खाद्यवस्तु उत्पादन गरी देश तथा विदेशमा निर्यात गर्ने दूरगामी लक्ष्यका साथ स्थापित यस प्रा.लि.ले नेपालका ग्रामिण भेगमा प्राङ्गारिक मलको प्रयोग गरी उत्पादन गरिएका स्वास्थ्यवदद्र्धक खाद्यान्नलाई सुपथ मूल्यमा उपभोक्ताको भान्सासम्म पुर्याइरहेको छ ।
पहाडका किसानलाई घरमै रोजगार
प्रा.लि.ले पहाडमा रहेका कृषकहरुलाई बजारको ग्यारेन्टी गरी कोदो, मकै, फापर, दाल, गेडागुडीजस्ता खाद्यवस्तुहरु उत्पादन गर्न प्रोत्साहित गरेको छ । सरकारले समेत कृषकलाई उत्पादित वस्तुको उचित समर्थन मूल्य प्रदान गर्न नसकेको पृष्ठभूमिमा प्रा।लि।को एकल प्रयासमा कृषकहरुले स्थानीय स्तरमै रोजगारी पाएका छन् । यसबाट घरमै बसीबसी मनग्य आयआर्जनका साथ उनीहरुको जीवन निर्वाह भइरहेको छ । धानको उत्पादनमा पहाडी क्षेत्रका कृषकलाई संलग्न गराउन सके धानमाथिको परनिर्भरता अन्त्य गरी धान निर्यात गर्न सक्ने प्रवल सम्भावना रहेको भन्दै प्रा.लि.का सञ्चालक पौडेलले स्वस्थ जनशक्ति विदेश निर्यात गर्नु दुर्भाग्यपूर्ण भएको बताए ।
देशमा रहेका युवा जनशक्तिलाई विदेश पठाई सरकारले उर्जाशील जनशक्तिबाट विकास निर्माणको कार्यसम्पादन गर्ने अवसर गुमाइरहेको उनको बुझाइ छ । उनी, भन्छन्, ‘लामो विदेश बसाइका कारण मानिसको स्वास्थ्य बिग्रिरहेको छ । स्वास्थ्य ठिक रहुञ्जेल विदेशमा बसेर बिरामी परेपछि स्वदेश फर्कने जनशक्तिले देशलाई योगदान दिन सक्दैन । यो देशको सम्पति नभई दायित्व बन्न पुग्छ ।’ अर्गानिक उत्पादन आयात गरी आफैँले प्रशोधन गरी प्याकेजिङ तथा बिक्री वितरण गर्दै आएको महालक्ष्मी फुड एन्ड प्रोडक्सन प्रा।लि।ले आफ्ना उत्पादन अन्यत्र बिक्री गर्न चाहनेलाई डिलरसमेत दिने भएको छ । आफ्ना उत्पादनको बिक्रीका लागि देशैभर शाखा विस्तार गर्ने लक्ष्य राखेको प्रा.लि.ले सरकारले सहयोग गरे विदेश निर्यातमा पनि काम गर्न सकिने उल्लेख गरेको छ ।
गोठको शुद्ध दुध सोझै उपभोक्तामा
प्रा.लि.ले रामधुनीमा आफ्नै स्वामित्वमा गौरीशंकर कृषि फर्म सञ्चालन गरी गाई तथा भैँसी पालनसमेत गर्दै आएको छ । यहाँबाट उत्पादित अर्गानिक शुद्ध दुध तथा दुग्धजन्य पदार्थ पनि प्रा।लि।ले बिक्री वितरण गर्दै आइरहेको छ । यसका अतिरिक्त प्रा.लि.ले मसालाजन्य सामग्रीसमेत प्याकेजिङ गरी सुपथ मूल्यमा बिक्री गरिरहेको छ । सञ्चालक पौडेल स्वस्थ जीवनका लागि अर्गानिक उपभोगमा जोड दिन्छन् । बजारमा पाइने अस्वस्थकर चाउचाउ, चिप्स,कोक, फेन्टाजस्ता चिजहरुको सट्टामा दुध, दही, मोही, रोटीजस्ता स्वस्थकर चिजको उपभोग गर्न उनी सल्लाह दिन्छन् । विदेशमा आफूले गरेको मेहनत सम्झँदै उनी कामको सम्मान गर्दै उत्पादनमूलक काममा लाग्न सबैलाई आग्रह गर्छन् । महालक्ष्मी फुड प्रोडक्सन प्रा.लि.ले ग्राहकको सुविधालाई मध्यनजर गर्दै फेसबुक पेजसमेत सञ्चालनमा ल्याएको छ । जहाँबाट आफूलाई आवश्यक सामानको अनलाइन अर्डर गर्न सकिने प्रा.लि.को भनाइ छ ।