इटहरीः आफू ७ वर्षको हुँदादेखि अन्न र नुन त्यागी फलफूलमात्रै सेवन गर्ने गरेका सुन्दरहरैंचा–७ गोठगाउँका ८३ वर्षीय जीवनाथ भट्टराईलाई सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थाले विशेष सम्मान गरेको छ ।
भट्टराई मायारुपी भगवतीको मन्दिर निर्माण गरी धार्मिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनलाई सहकारीले २२ औं साधारणसभाको अवसर पारेर सम्मान गरेको हो । साधारणसभाका प्रमुख अतिथि नेपाल बचत तथा ऋण सहकारी सङ्घ केन्द्रीय समितिका कोषाध्यक्ष केशवप्रसाद पोखरेलले सम्मान गरेका थिए । भट्टराईकी पत्नी सावित्रादेवी भट्टराईलाई पनि संस्थाले सम्मान गरेको थियो ।
सहकारीले सेयर सदस्यको परिवारका ज्येष्ठ नागरिक ९९ वर्षीया खड्गकुमारी ढकाल, ९२ वर्षीया इच्छमाया भट्टराई र ८९ वर्षीय देउनारायण सापकोटालाई पनि सम्मान गरेको थियो ।