विराटनगरः  प्रदेश १ को प्रदेशसभा बैठक अर्को सूचना नआउञ्जेलसम्मको लागि स्थगित भएको छ ।

बुधबार दिउँसो २ बजे प्रक्रियामा गएको बैठक करिब ३ मिनेट चलेर स्थगित भयो । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाएको पत्र पढेर सुनाए । त्यसपछि अर्को सूचना नआउञ्जेलसम्मको लागि बैठक स्थगन भएको घोषणा गरे । विगत जस्तो संसद बैठकमा कुनै पनि दलका नेताले शुभकामना दिएनन् । प्रदेशसभा बैठकमा अनुमान गरिएजस्तो असहज देखिएन । यसअघि नेकपामा उत्पन्न परिस्थितिका कारण बैठकमा विवाद सिर्जना हुनेसम्मको अड्कल गरिएको थियो । खासमा ओली समूहका तर्फबाट सदनमा प्रतिनिधित्व गर्ने सांसद बुद्धिकुमार राजभण्डारीले सञ्चारमाध्यमा दिएको अभिव्यक्तिका कारण सदनमा झडपसम्म हुन सक्ने सन्देश गएको थियो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले सरकारले संविधानले व्यवस्था गरेअनरुप नै संसद बैठक आह्वान गरेको बताउँदै भने,“कार्यव्यवस्था परामर्श समितिमा सहमति गरेर बैठक सम्पन्न गरेका छौं । अर्को बैठक सभामुखले तय गरेर डाक्नुहुनेछ ।”

उनले सदन सौहार्दपूर्वक सम्पन्न गर्न सबै दलको सहयोग रहेको बताए । नेकपा प्रमख सचेतक राजभण्डारीले ‘नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका १६ जना सांसदलाई बैठकमा प्रवेश नै गर्न नदिइने’ अभिव्यक्ति दिएका थिए । तर, बुधबार बैठक सम्पन्न भएलगत्तै उनले “सदनमा सांसदलाई प्रवेश गर्न नदिने भन्ने अधिकार सभामुखको भएको” भन्दै अभिव्यक्ति फेरेका छन । सदनलाई छोटो समूहसम्म स्थगित गरिएको र संभवत माघ १६ गते फेरि बस्ने जानकारी दिएका छन् । राजभण्डारीले नेकपाको संसदीय दल आफूहरुकै वैधानिक भएको दाबी गर्दै भने,“संवौधानिक व्यवस्था अनुसार ६ महिनामा बैठक बस्नैपर्ने बाध्यता भएकोले अवरोध नगरेका हौं तर अब हुने बैठकमा उहाँहूलाई प्रवेश गर्न नदिन सभामुखलाई आग्रह गर्नेछौं । जर्बजस्ति भए सदनको कारवाही अघि बढ्ने रोक्ने छौं ।”

दाहाल–नेपाल समूहले बहुमत सिद्ध गरेर मात्र दलको नेता परिवर्तन गर्न सक्ने भन्दै आफूहरुले गरेको कारबाही वैधानिक भएको दाबी गरे । राजभण्डारीले अब प्रदेशसभा सञ्चालन गर्ने सबै जिम्मा सभामुखको भएको र सदनमा अविश्वास प्रस्ताव टेबुल हुने तर यो पूर्ण रुपमा असफल हुने दाबी गरे । दाहाल–नेपाल समूहका सांसद तथा निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सरकारसँग र सदनमा रहेका अन्य दलसँग छलफल जारी रहेको बताउँदै भने,“कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेरै सदन सुरु भएको छ । संसद नियमावलीको व्यवस्थाको आधारमा अविश्वास पस्ताव टेबुल भई छलफल हुनेछ ।” संविधानमा जुनसुकै दलको भएपनि एक चौथाई दलका सदस्यले अविश्वास पस्ताव राखे संसदमा छलफल हुने उल्लेख भएको र यो वैधानिक रुपमै राखिएको बताए । आङ्बोले संसदले नै अविश्वास पस्तावमाथि गरेको छलफल र त्यसको निर्णय मान्न आफूहरु तयार रहेको स्पष्ट गरे ।

दाहाल–नेपाल समूहका सांसद एकै पटक सदन छिरे
बुधबार दाहाल–नेपाल समूहका सांसद एकै पटक प्रदेशसभाभित्र प्रवेश गरे । सांसदलाई रोक्ने चर्चाबीच एकैपटक आएका सांसदहरु लाइन लागेर प्रदेशसभाको गेटबाट प्रवेश गरेका थिए । ओली समूहको तर्फबाट निलम्बन गरिएका १६ जना सांसदलाई संसद प्रवेश गर्न रोक्नेसम्मको तयारी भएको प्रचार गरिएको थियो । सांसद उपेन्दप्रसाद घिमिरेले भने,“प्रचार गरिएको विषयमा हामीलाई थाहा छैन तर संसद बैठक सहज रुपमा सम्पन्न भएको छ ।” ओली समूहले १६ जना सांसदलाई निलम्बन गरेका छन् भने त्यसको जवाफमा मुख्यमन्त्री शेरधन राईसहित ८ जना सांसदलाई निलम्बन गरिदिएको घोषणा गरेका थिए । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले अर्को संसद बैठकमा अविश्वास प्रस्ताव टेबुल भई छलफल हुन सक्ने बताए ।