वासिङ्टन डीसीः अमेरिकी इतिहासमै उदण्ड राष्ट्रपतिको संज्ञा पाउँदै दुईरदुई पटक महाभियोग खेप्न विवश बहिर्गमित राष्ट्रपति डोनल्ड ट्रम्पले आफू कुनै न कुनै रुपमा फेरि ह्वाइट हाउस फर्कने बताएका छन् । 

राष्ट्रपतिको रूपमा ह्वाइट हाउसमा चार वर्षे कार्यकाल बिताएर बाहिरिँदै गर्दा पनि महाभियोगको तलवार झुण्ड्याउनु परेका ट्रम्पले आफू ‘कुनै न कुनै रूपमा फर्कने’ बताएका हुन् । फ्लोरिडातर्फ प्रस्थान गर्नुअघि आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले, ‘उनीहरूको राष्ट्रपति हुन पाएकोमा ठूलो गौरव भएको’ पनि उल्लेख गरे । सन् १८६९ यता, आफैलाई हराउने उत्तराधिकारीको शपथ समारोह बहिष्कार गरेका उनले जो बाइडनको नाम नलिएरै ‘नयाँ प्रशासनलाई धेरै शुभकामना अनि ठूलो सफलताको कामना गर्छु ।’ भने ।

ह्वाइट हाउसबाट फ्लोरिडा जाने क्रममा म्यारिल्यान्डस्थित जोइन्ट बेस एन्ड्र्युज पुग्नुभएका ट्रम्पले राष्ट्रपतिको रूपमा आफ्नो अन्तिम सम्बोधन गर्दै आफ्नो कार्यकालमा भएका गजबका उपलब्धिमा रोजगार सृजना, अन्तरिक्ष फौजको स्थापना, कर प्रणाली तथा द्रुत गतिमा कोभिड खोप विकास भएको दाबी गरे । ट्रम्पले भने, ‘तपाइँहरूको राष्ट्रपति बन्न पाउनु ठूलो सम्मान र सौभाग्य रह्यो । म सधैँ तपाइँहरूका निम्ति लडिरहनेछु । म हेरिरहनेछु । म सुनिरहनेछु ।’ ट्रम्पले फ्लोरिडाको पाम बीचस्थित मार आ लागो गल्फ क्लबमा आगामी दिन बिताउने बताइएको छ । ट्रम्प फ्लोरिडा पुग्दा समर्थकहरूको ठूलो भिडले स्वागत गर्दै आफूहरुको राष्ट्रपति ट्रम्प नै रहेको र ट्रम्प विजयी रहेको बताएका थिए । अमेरिकी प्रजातन्त्रको आस्था मानिने संसद भवनमा आफ्ना उत्तेजित भीड निम्त्याएर हिंसात्मक आक्रमण गराएपछि कार्यकाल सकाएर बिदा हुँदा पनि महाभियोगको आक्षेप बोकेर निस्कन बाध्य पूर्वराष्ट्रपतिको कालो इतिहास रच्ने पात्र पनि ट्रम्प नै बनेका छन् । -एजेन्सी