बैंगलुरुः भारतको कर्नाटक राज्यस्थित शिवामोग्गामा बिहीबार राति भएको डायनामाइट विस्फोटमा परी कम्तिमा ८ जना मजदुरको ज्यान गएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार राति स्थानीय समयअनुसार करिब साढे १० बजे रेलवे क्रसर साइटमा भएको विस्फोटपछि आसपासमा समेत धक्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विस्फोटपछि केही झ्यालका सिसा फुट्नुका साथै सडकसमेत चिरा परेको बताइएको छ ।

प्रादेशिक राजधानी बैंगलुरुदेखि तीन सय ५० किलोमिटरको दूरीमा भएको विस्फोटबाट ट्रक क्षतविक्षत हुनुका साथै शव पहिचान गर्न नसकिने अवस्थामा पुगेको छ । विष्फोटपछि फैलिएको गन्ध र अँध्यारो भएका कारण उद्धारको काम प्रभावकारी हुन नसकेको बीबीसीले जनाएको छ । विस्फोटको कारण हालसम्म यकिन नभएको अधिकारीहरुको भनाइ छ ।