वासिङ्टन डीसीः निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोगको टुंगो आगामी हप्ता लाग्ने भएको छ । 

संसदको तल्लो सदनले पारित गरेर माथिल्लो सदनमा पुगको सो प्रस्तावको निर्णय प्रक्रिया आगामी हप्ता टुंगो लाग्ने बीबीसीले जनाएको छ । केही दिनअघि ट्रम्पका समर्थकहरुले अमेरिकी संसद भवनमा प्रवेश गरेर आक्रमण गरेपछि उहाँविरुद्ध महाअयभियोगको प्रस्ताव लगाउने प्रक्रिया सुरु भएको हो । संसदको तल्लो सदनले महाअभियोग लगाउने प्रस्ताव पारित गरेर माथिल्लो सदनमा पेश भएको छ । चुनावी परिणामलाई लिएर हिंसा मच्चाएको भन्दै ट्रम्पविरुद्ध आफ्नै दलका सांसदहरुले समेत महाअभियोग लगाउनुपर्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

राष्ट्रपति ट्रम्पको कार्यकाल सकिएपनि माथिल्लो सदनमा प्रस्तावको टुंगो लगाउने छ । संसदको माथिल्लो सदनले तल्लो सदनबाट आएको प्रस्तावलाई सदर गरे राष्ट्रपति ट्रम्पले आगामी कार्यकालका लागि निर्वाचनमा सहभागी हुन पाउने छैनन् । अमेरिकी इतिहासमा दुई पटक महाअभियोगको सामना गर्ने बहालवाला राष्ट्रपति ट्रम्प मात्र हुनुहुन्छ । यसअघि पनि ट्रम्पविरुद्ध संसदको तल्लो सदनले पास गरेको महाअभियोगको प्रस्ताव माथिल्लो सदनले रोकेसँगै प्रक्रिया पूरा हुन पाएको थिएन । राष्ट्रपति ट्रम्पको निर्देशनमा भएको सो दंगामा एक जना सुरक्षाकर्मीसहित पाँच जनाको मृत्यु भएको थियो । -एजेन्सी