इटहरीः खुला भन्सारका कारण भारतीय बजारमा सामान सस्तो पाउनुका साथै भ्याट रिफन्डको रोकले नेपाली बजार महङ्गिएकाले नेपाली बजार कमजोर भएको व्यापारीहरू बताउँछन् ।
मोबाइललगायत इलेक्ट्रोनिक्स सामानमा कडाइ गरिएका कारण नेपालतर्फको व्यापारमा समस्या परेको महालक्ष्मी इलेक्ट्रोनिक्स धरानका सञ्चालक भरत अग्रवालको भनाइ छ । मेची करिडोरको इलामदेखि कोशी करिडोरको धनकुटासम्मका ग्राहक पानीट्याङ्की र जोगबनी पुग्ने गरेको पाइएको छ । काठमाडौँलगायतका शहरबाट नाका आसपासको शहरमा पाहुना बनेर आएका समेत जोगबनी र पानीट्याङ्की गएर सामान खरिद गर्ने गरेका छन् ।
नेपालीहरूको महान् पर्व बडादशैँ, तिहार लगायतका पर्वको पूर्वसन्ध्यामा भारतीय बजारहरू भरिभराउ हुन थालेका छन् । जसका कारण पूर्वी नेपालका जोगबनी र पानीट्याङ्की नाकाका बजारमा व्यापारिक चहलपहल बाक्लिन थालेको छ ।
जसले गर्दा प्रदेश १ का व्यापारिक केन्द्र मानिएका विराटनगर, बिर्तामोड, धरान, इटहरीलगायत प्रमुख शहरहरूमा चाडपर्वको व्यापारिक प्रभाव कमजोर बन्दै गएको छ । इटहरीका हिमाल कर्नरका सञ्चालक रविन दर्नाल भारतीय बजारका कारण व्यापारमा समस्या आएको बताउँछन् ।
चाडपर्वको मौसम नजिकिँदै गर्दा व्यापारमा भने उत्साह थपिन छाडेको बताउँछन् यु एन्ड मी पसलका सञ्चालक यामबहादुर खड्का । पहिले चाडपर्वमा व्यापार बढ्ने भएकाले धेरै सामान ल्याउने गरे पनि पछिल्लो वर्ष व्यापार कम हुन थालेको उनको भनाइ छ ।
त्यस्तै, विनोद फेन्सी स्टोरका सञ्चालक विनोद कट्वाल पनि व्यापारमा कुनै उत्साह नथपिएको बताउँछन् । सामान्य अवस्थामाजस्तै सामान बिक्री भइरहेको उनको भनाइ छ ।
मुख्य गरी कपडा, इलेक्ट्रोनिक्स सामान र किराना वस्तुमा व्यापारीलाई महङ्गो भन्सार लिने गरिन्छ । उपभोक्ताको लागि भनेर छुट गर्नाले दुले व्यापारीहरू उपभोक्ताको रूपमा जाने गरेको पाइएको छ ।
प्रहरीसँगको मिलेमतोमा भन्सार नतिर्ने र नेपालमा ल्याएर सस्तो मूल्यमा बिक्री गर्ने गरेका कारण व्यापारमा असन्तुलन पैदा भएको रेडिमेड व्यवसायी सङ्घ इटहरीका महासचिव बुद्ध सुवेदी बताउँछन् । त्यसले नेपाली बजारलाई धेरै समस्यामा परेको उनी बताउँछन् ।
नेपालका व्यापारीहरूमा भएको अस्वस्थ प्रतिस्पर्धाका कारण उपभोक्ताको विश्वास जित्न नसकेको अर्थविद् डा. भेषप्रसाद धमलाको भनाइ छ । सरकारले कर प्रणालीलाई पारदर्शी बनाउन नसक्नु र खुला सिमानाको नियमन गर्न नसक्नु समस्या रहेको उनी बताउँछन् ।
भारतीय नाकाबाट ल्याउने सामानमा उपभोक्ता ठगिएको बताउँछन् इटहरीको केबी फेन्सी स्टोरका सञ्चालक राजेश दाहाल । उनका अनुसार भारतका बजारमा नक्कली सामानलाई ब्राण्डेड भनेर बेच्ने तर सामानको बाहिरी रूप एउटै भए पनि गुणस्तरहीन सामान भित्रिइरहेको उनको भनाइ छ । त्यस्तै किराना सामानमा पनि उपहारको लोभमा कम सामान दिने गरेको उनको तर्क छ । सामान लोड गर्दा सामान लुकाइदिने, चिनी मसला लगायतका वस्तुको वजन मेसिन बिगारेर सामान बिक्री गर्ने गरेको उनी सुनाउँछन् ।
सस्तो पाउने लोभमा नेपाली ग्राहकहरू ठगिएको पाइएको छ । त्योभन्दा ठूलो कुरो नेपाली बजारको अवस्था कमजोर बन्दै गइरहेको छ । उपभोक्ताको सङ्ख्या बढिरहेको अवस्थामा नेपाली बजारको व्यापारमा भने गिरावट आइरहेको छ ।