इटहरीः अस्तव्यस्त सडकले ट्राफिक दुर्घटना सँगसँगै शहरी सौन्दर्यसमेत हराएको भन्दै गत भदौ २० गते इटहरीका मेयर/उपमेयर लगायतको टोली सडकको भाग खोज्न निस्कियो ।
विभिन्न मिडियालाई औपचारिक र अनौपचारिक रूपमा जानकारी दिँदै सडकको दायाँबायाँ ८२–८२ फुट सडक ‘क्लियर’ गर्न मेयर उपमेयर नै लागेको देखेर स्थानीय तथा व्यवसायीहरूले पनि साथ दिएका थिए । कार्यपालिकाको निर्णयअनुसार भएको सो अभियानमा वडाध्यक्षहरूलाई पनि जानकारी नदिएपछि एक्कासी रोकियो ।
इटहरीको पूर्वी सिमाना बुढी खोलाबाट शुरु भएको बाटो क्लियर अभियान खाद्य गोदाम नपुग्दै हाल रोकिएको छ । दशैंअघि नै इटहरीका सबै प्रमुख सडकमा जाम र भीड कम हुने विश्वास लिएका स्थानीयहरूले त्यो दृश्य यस पटक पनि देख्न पाएनन् । रोड क्लियर भएपछि सडकको फुटपाथमा मजाले हिँड्न पाइन्छ भनेका पैदलयात्री पनि जोखिम मोलेर मूल सडकबाट नै हिँड्न बाध्य छन् ।
‘हिँड्ने ठाउँमा लुगा, खेलौना घर बनाउने सामान मात्र छ । मूल सडकबाट हिँडियो भने मरिन्छ भन्ने हुन्छ । बरु सडक पेटीमा अरूलाई ठेल्दै नाघ्दै हिँड्न नै बेस’, सङ्खुवासभा घर बताउने विवश दाहालले भने, ‘उपमहानगरपालिकाजस्तो ठाउँले यसलाई व्यवस्थापन गर्न आवश्यक मेकानिजम तयार पार्नुपर्ने हो । तर खोइ यहाँ त नगरले नै सडकका पेटीपेटीमा व्यापार व्यवसाय सञ्चालन गर्न अनुमति दिएजस्तो देखियो ।’
उपमहानगरपालिकाको लापरबाही र व्यापारीको मनोमानीले बटुवा मारमा परेका छन् भने इटहरी बजार कुरूप बन्दै गएको छ । सडक पेटी मात्र होइन सडक नै मिचेर पनि इटहरीका कतिपय व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
सडकमा व्यवसाय गर्ने मात्र होइन सटरमै व्यवसाय गर्नेहरूले पनि निर्माण सामग्रीदेखि सिलिन्डर र अन्य सामान बाटोमै राखेर बेच्ने गरेका छन् । दाहाल भन्छन्, ‘नहुने त ल छैन रे । तर ठूला कोठा लिएर व्यापार गर्नेले त आफ्नो घरभित्रै गर्नु नि ।’
उपमहानगरपालिका भएपछि व्यवस्थित हँुदै जानुपर्ने नगरको मुख्य बजार क्षेत्र झनै अव्यवस्थित हँुदै गएको छ । मुख्य चोकका आसपासकै सडक पेटी अतिक्रमण भइरहेको छ । पटकपटक उपमहानगरपालिकाले सडक पेटी खाली गर्न गरेको आग्रहलाई व्यापारीले टेरेका छैनन् । नगरपालिकाको आग्रहलाई उल्टै चुनौती दिँदै पुरै सडक व्यापारीले कब्जा गरिरहेका नै छन् ।
उपभोक्ता हित संरक्षण समितिले गरेन अधिकारको प्रयोग
बजारलाई सम्पूर्ण तरिकाले अनुशासित र प्रतिस्पर्धात्मक बनाउन उपमहानगरको उपभोक्ता हित संरक्षण समितिलाई कार्यपालिकाले अधिकार दिएको छ । तर उपप्रमुखको संयोजकत्वमा बनेको संरक्षण समितिले बजारलाई पूर्ण व्यवस्थित बनाउन नसकेको आरोप लाग्दै आएको छ ।
इटहरी उपमहानगरले बनाएको बजार अनुगमन नियमावली २०७५ ले बजारलाई पूर्ण व्यवस्थित गराउन मार्ग प्रशस्त गरेको छ । बजार प्रणालीलाई स्वस्थ, प्रतिस्पर्धी र उपभोक्ताप्रति जिम्मेवार तुल्याउन यो नियम र अन्य प्रचलित कानुनको कार्यान्वयनमा जोड दिनुपर्छ । जुन नियमावली अनुसार बजार अतिक्रमण हटाउन प्रजिअलाई आग्रह गरी प्रहरी समेत परिचालन गर्न सकिन्छ ।
सडक क्लिनिङको काम पुनः शुरु हुने
सडक आसपासको अव्यवस्थित व्यवसाय मात्र होइन पूरै सडक क्लिनिङको काम पनि दशैंपछि शुरु हुने इटहरीका मेयर द्वारिकलाल चौधरीले बताए । दशंै र तिहार आउन लागेकाले अहिले तत्काल काम रोकिए तापनि मुख्य चाडपछि सबै काम पुन सुचारु हुने उनले बताए ।
‘मुख्य चाडलगायतका अन्य चाड आउन लागेको र सडक डिभिजनको निगरानीमा काम गर्नुपर्ने भएकाले अरू काम पछि गर्ने छु’, चौधरीले भने, ‘सडक पार्किङका साथै व्यवसायी र अन्य क्षेत्रका सबै समस्या चाँडै सम्बोधन हुनेछ ।’