गण्डकीः कोरोनाले थलिएर सुस्त बनेको गण्डकी क्षेत्रको पर्यटनलाई चलायमान बनाउन संस्थागत रूपमा समेत विभिन्न प्रयास भइरहेका बेला गण्डकीका पर्यटकीय गन्तव्य यतिखेर पर्यटकको पर्खाइमा छन् ।  

पोखरासहित समग्र गण्डकी क्षेत्र पर्यटकका लागि खुलेको सन्देश प्रवाह गर्न गण्डकीमा क्रियाशील पर्यटनसम्बद्ध सङ्घ संस्थाको अगुवाइ एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रवद्र्धनमा केही समययता विभिन्न स्थानको प्रवद्र्धनात्मक भ्रमणसमेत सम्पन्न भएको छ । पोखरा पर्यटकका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न यहाँका पर्यटकीयस्थलको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न भएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशीराज भण्डारीले बताए । ‘पहिलो चरणमा पर्यटनसम्बद्ध सङ्घ संस्थासँगको सहकार्यमा प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेका छौँ,’ उनले भने, ‘यी भ्रमणले समग्र पोखरासहित गण्डकी प्रदेशको पर्यटनलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।’

आगामी दिनमा प्रदेशका महत्त्वपूर्ण पर्यटकीय गन्तव्य एवम् गतिविधि समेटिएको श्रव्य–दृश्य सामग्री तयार गर्ने, विभिन्न तालिम सञ्चालन गर्नेलगायतका कार्यक्रम गर्ने योजना रहेको उनले जानकारी दिए । प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य गण्डकी प्रदेश हिमाल, पहाड र तराईको भू–भागमा समेटिएको छ । यहाँका प्राकृतिक एवम् मानवनिर्मित सम्पदाले स्वदेशी वा विदेशी जो कोहीलाई लोभ्याउने गरेका छन् । तराईको नवलपुरदेखि हिमालपारिको जिल्ला मुस्ताङकोे लोमान्थाङ र मनाङ जिल्लामा पर्ने विश्वको सर्वोच्च उचाइको तिलिचो ताललगायत प्राकृतिक छटा र सुन्दरताले पर्यटकलाई मोहित तुल्याउने गर्दछ । नदीनाला, मठमन्दिर र हिमशृङ्खला दृश्यावलोकनका गन्तव्यले गण्डकी प्रदेशमा पर्यटकलाई आकर्षित गर्दै आएका छन् ।

प्रदेशमा अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्र पछिल्लो समय भने कोभिड–१९ ले प्रभावसँगै नराम्रोसँग प्रभावित बन्न पुग्यो । गण्डकीका ११ वटै जिल्लाका पर्यटकीय गन्तव्य कोरोना महामारीसँगै बन्द भए । लामो समय सुनसान बनेका पर्यटकीय गन्तव्यमा पछिल्लो एक÷दुई महिनायता भने चहलपहल सुरु भएको छ । बन्द भएका सबै पर्यटकीयस्थल माघदेखि खुला भएर पर्यटकको स्वागतका लागि तम्तयार छन् । प्रदेशभित्रका कास्की जिल्लामा पर्ने फेवाताल, तालबाराही मन्दिर, विन्ध्यवासिनी मन्दिर, मुस्ताङको मुक्तिनाथ, गोरखाको मनकामना, गोरखा दरबार, नवलपुरका गोरक्षमोक्षधाम, कैलाश आश्रम, वाल्मिकी आश्रम, मौलाकालिका, देवघाट, बागलुङको बागलुङ कालिकालगायतका धार्मिक तथा ऐतिहासिक महत्त्वका स्थल खुलेसँगै यहाँ पर्यटकीय गतिवधि बढ्न थालेको छ ।

पछिल्लो समयमा पोखराकै अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, जीप लाइन, बञ्जी, अल्ट्रालाइटजस्ता पर्यटकीय गतविधि पनि सञ्चालनमा आइसकेका छन् । पदयात्रा पर्यटनमा आकर्षक मानिएको प्रदेशका अन्नपूर्ण, मर्दी तथा माछापुच्छ«े पदयात्रा मार्गका सबै स्थलसमेत खुला भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले जनाएको छ । लामो समय बन्द भएका प्राकृतिकस्थल, दृश्यावलोकन स्थल, साहसिक पर्यटनका गतविधि सञ्चालनमा आएसँगै आगामी दिनमा पर्यटनको आवागमन बढ्ने अपेक्षा गरिएको छ । विश्वमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्य मानिने अन्नपूर्ण आधार शिविर र ग्रामीण पर्यटनको गन्तव्य घान्द्रुक यही माघ १ गतेदेखि पर्यटकका लागि खुला भएपछि गण्डकी प्रदेशका सबै पर्यटकीय गन्तव्य पर्यटकका लागि खुला भएका हुन् ।

सुरुमा अन्नपूर्ण आधार शिविर जान पिसिआर रिपोर्ट अनिवार्य भनिएकामा उक्त प्रावधानले आउन चाहने पर्यटकलाई झन्झटिलो हुने महसुस गरी रिपोर्टबिना नै जान सक्ने व्यवस्था मिलाइएको छ । छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङका अनुसार कोरोना सङ्क्रमणको दर घट्दै गएको र जनजीवन सामान्य अवस्थामा फर्किंदै गरेको अवस्थालाई दृष्टिगत गरी पिसिआर रिपोर्ट अनिवार्य नठानेर यस्तो निर्णय लिइएको हो । घान्द्रुक खुला हुनुअघि पुसको अन्तिम साता धार्मिक पर्यटकीय गन्तव्य मुक्तिनाथ मन्दिर खुला भएको थियो । पर्यटन बोर्डका गण्डकी प्रदेशका प्रमुख भण्डारीले कोभिडका कारण बन्द प्रदेशका सबै पर्यटकीय गन्तव्य खुला भइसकेकाले आगामी दिनमा सबै किसिमका पर्यटकीय गतिविधि पुनः सञ्चालन हुने बताए । घान्द्रुक खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटक घान्द्रुक हुँदै टाढापानी, देउराली, घोरेपानीसम्म पनि आउजाउ गर्न सक्छन् । घान्द्रुकबाट पर्यटक छोमरुङ, सिनुवा, बम्बु, दोभान, हिमालय देउराली हुँदै माछापुच्छ«े आधार शिविर तथा अन्नपूर्ण आधार शिविर पुग्न सक्नेछन् । कोरोना कहर अझै साम्य भइनसकेकाले विदेशी पर्यटक तत्कालै नेपाल आउने सम्भावना कम छ ।

विदेशी पर्यटकभन्दा पनि स्वदेशी पर्यटकलाई प्राथमिकता दिनका लागि आन्तरिक पर्यटनमा जोड दिने गरी कार्यक्रम सुरु गरिने बोर्डले जनाएको छ । पर्यटन मन्त्रालय, पर्यटन बोर्ड तथा विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाले आन्तरिक पर्यटन पुनरोत्थानका कार्यक्रममार्फत पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्नुले पोखराको पर्यटनलाई चलायमान बनाउने विश्वास लिइएको नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले बताए । कोरोनाले थलिएको पोखराको पर्यटनलाई रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्र्रेजी नयाँ वर्षमा गरेको सडक महोत्सवले आन्तरिक पर्यटकलाई चलायमान बनाएको पर्यटन व्यवसायीको अनुभव छ । रेवानले बर्सेनि आयोजना गर्दै आएको सडक महोत्सवमा यस वर्ष विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकले भने पोखरा भरिएको थियो । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा हालै कास्की, पर्वत तथा बागलुङका विभिन्न होमस्टे (घरबास)मा प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरिएको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले बताए ।

‘हामीले यस क्षेत्रका धेरै ठाउँमा प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेका छौँ,’ उनले भने, ‘पर्यटनका अन्य क्षेत्रजस्तै गण्डकी प्रदेशमा गाउँ पर्यटनका सबै गतिविधि आगामी दिनमा चलायमान हुनेछन् ।’ ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले अन्नपूर्ण उत्तरी आधार शिविरको परिचयात्मक भ्रमणका साथै कास्कीको मादी गाउँपालिकाको सहयोगमा मादीका ताङतिङ, करापुडाँडा, क्होलासोंथर, ठूलीलेक, कोरी, क्हफुचे ताल, सिक्लेस पदयात्रा मार्गको अध्ययन, अनुसन्धान एवम् प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिए । टानले कोरोनापछि भौगोलिक एवम् सांस्कृतिक विविधताको पहिचान एवम् विभिन्न जातजाति, वेशभुषा, रहनसहन, कला संस्कृति र सम्पदालाई पहिचान, संरक्षण, प्रवद्र्धन र मूल्याङ्कन गरी पदयात्रा क्षेत्रलाई ‘पदयात्रा संरक्षण क्षेत्र’ का रूपमा विकास गर्दै यसैबाट समग्र पर्यटनको विकाससँगै प्रदेशमा अधिकतम रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखेको अध्यक्ष पौडेलले बताए ।

कोरोनाको कहरसँगै शिथिल बनेको पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन सबै पर्यटकीय गतिविधि खुलेसँगै चलायमान बन्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । व्यवसाय बचाउन मौद्रिक नीतिको कार्यान्वयन, सहुलियत दरमा ऋण, ऋणको पुनः तालिकीकरण आदिका लागि सम्बद्ध पक्षसँग आग्रह गर्दै आएको बताउँदै उनले नयाँ पर्यटकीय पूर्वाधार विकास गर्नु आवश्यक रहेको औँल्याए । -रासस