इटहरीः प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मानवीय जनशक्तिले मात्र मुलुकमा समृद्धि सम्भव नहुने बताएका छन् ।
प्रवासमा रहेर सिकेको सीप, श्रम र पूँजीलाई आफ्नै माटोमा खर्चेर समृद्ध नेपाल बनाउने अभियानमा सहयोगी भूमिका निभाउने अभिप्रायका साथ मोरङ–सुनसरी सेवा समाजको आयोजनामा इटहरीमा आज भएको एक दिने सेमिनारमा सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री घिमिरेले देशमा समृद्धि ल्याउन बुद्धि, विवेक, सिप तथा प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए । प्रवासी नेपालीसँग भएको बुद्धि, विवेक र सीपलाई राज्यले भरपुर प्रयोग गर्नुपर्ने उनले बताए ।
समृद्ध नेपाल, सुखी नेपाली भन्ने सरकारको नारालाई सफल पार्न सहयोग पु¥याउने प्रवासी नेपालीका सङ्घ संस्थालाई सहयोग गर्न आफ्नो मन्त्रालय तथा प्रदेश सरकारको तर्फबाट उनले सो अवसरमा प्रतिबद्धता जनाएका थिए ।
इटहरी उपमहानगरपालिकाका उपप्रमुख लक्ष्मी गौतमले वैदेशिक रोजगारले निम्त्याएको समस्याको बारेमा चर्चा गर्दै त्यसको सामाधानको बारेमा बेलैमा नसोचे त्यसले भयावह रूप लिनेतर्फ सोच्नुपर्ने बताइन् ।
कार्यक्रममा केराबारी गाउँपालिकाका प्रमुख रोहित कार्की, उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो लगायतका स्थानीय सरकारका प्रतिनिधिले आफ्नो धारणा राखेका थिए ।
‘स्पेसल इन्टरपिनर्सिप कन्क्लेभ २०१८’ नाम दिइएको सो कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेशसभा सांसद राजकुमार ओझा, लीलाबल्लभ अधिकारी, कुलप्रसाद साँवा, सूयर्माराज राई, उपेन्द्र घिमिरेलगायतको उपस्थिति थियो । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी, उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो, बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीलगायतका स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखको कार्यक्रममा सहभागी थिए ।
सो अवसरमा समाजको कतार शाखाका पूर्व अध्यक्ष विनोद भट्टराईले समाजको अभियान: उपलब्धि र सम्भावना तथा पूर्व प्रवासी नेपाली सञ्जालका महासचिव लक्ष्मीप्रसाद आचार्यले ‘विदेशबाट फर्किएका नेपालीको चुनौति र सम्भावना’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । समाजका कतार सल्लाहकार कुमार कार्कीले ‘रेमिट्यान्स सदुपयोग र उद्यमशीलता गैर आवासीय नेपाली सङ्घको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
समाजका पूर्व अध्यक्ष एवम् सल्लाहकार गोकुलबहादुर थापाले कार्यक्रमको औचित्यको बारेमा प्रकाश पारेको कार्यक्रम समाजका अध्यक्ष रामनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।