नयाँ दिल्लीः दिल्लीस्थित इजरायलको दुतावासनजिकै बम विस्फोट भएको छ । विस्फोटबाट ५ वटा कारमा नोक्सान पुगेको भारतीय मिडियाले जनाएको छ । घटनामा कोही पनि घाइते भएको खबर छैन । प्रहरीको टोली घटनास्थल पुगेर विस्फोटको पुष्टि गरेको छ । विस्फोट भएको स्थानबाट इजरायलको दुतावास १ सय ५० मिटरको दूरीमा छ ।

प्रहरीले अहिले घटनास्थललाई घेरेर राखेको छ । अनुसन्धान सुरु गरिएको दिल्ली प्रहरीका वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै आजतकले लेखेको छ । दिल्लीमा भएको बम विष्फोटको घटनापछि मुम्बई प्रहरीले शहरको सुरक्षा व्यवस्था कडा पारेको छ । घटनापछि भारतीय विदेशमन्त्री एस जयशंकरले इजरायली समकक्षी गाबी अस्केनाजीलाई टेलिफोन गरी घटनालाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै इजरायली दुतावासमा कार्यरत कुटनीतिक अधिकारीहरुको पूर्ण सुरक्षा प्रबन्ध गरिने आश्वासन दिएका छन् ।

विस्फोटको घटनालाई इजरायलले भने आतङ्ककारी घटनाको रुपमा चित्रण गरेको इजरायली अधिकारीलाई उदृत गर्दै रोयटर्सले जनाएको छ । स्थानीय समय अनुसार साँझ ५ः०५ बजे विस्फोट भएको दिल्ली प्रहरीले जनाएको छ ।