इटहरीः विकासका काम गर्न लाग्दा पटक पटक विवादमा आउने ठाउँ मध्येको एक हो सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ५ पचरुखीमा रहेको काव्य वाटिका । गत शुक्रबार इटहरी उपमहानरपालिकाले त्यहाँ वडा नम्बर ५ को वडा कार्यालय र स्वास्थ्य कार्यालय बनाउन रुख विरुवा फडानी गरेपछि इटहरीका कलाकर्मीहरुले आपत्ति जनाएका छन् । यो ठाउँमा कलाकर्मीका लागि विभिन्न खालका भौतिक पूर्वाधार र भएका संरचनालाई भ्रमणमैत्री बनाउन राखिएको भन्दै रुख विरुवा काटेर भवन बनाएकोमा कलाकर्मीले आपत्ति जनाएका हुन् । उनीहरुका अनुसार यहाँ रुख काट्दा धेरै वर्ष अगाडिदेखिका मूर्ति तथा लोकप्रिय बिरुवाहरु नष्ट भएका छन् ।

एक वर्षअगाडि पर्यटन मन्त्रालयबाट प्राप्त भएको साठी लाख रुपैयाँमा यहाँ सडक बनाउने र शौचालय निर्माणको काम भएको छ । यहाँ अन्तरिक पर्यटकलाई आकर्षित गर्न मन्त्रालयले सहयोग गरेको हो । मन्त्रालयबाट यो वर्ष पनि भौतिक पूर्वधार निर्माण र काव्य वाटिका क्षेत्रमा रहेका पौराणिक महत्वका मूर्ति तथा अन्य संरचना संरक्षण गर्न ४५ लाख बजेट प्राप्त भएको छ । यहाँ रहेका बोट बिरुवा काटेर भौतिक संरचना विकासकमा जोड दिएपछि कलाकर्मीले विरोध गरेका हुन् । तर, यहाँका स्थानीय भने कलाकर्मीको ठिक विपरीत धारण व्यक्त गर्छन् । यो जग्गा कलाकर्मीको लागि मात्र नभएर सबैको भएकाले कलाकर्मीले देखाएको यो आपत्तिको कुनै तुक नभएको यहाँका स्थानीयहरु बताउँछन् ।

कलाकर्मीको एकल स्वार्थ भएको स्थानीयको भनाइ

यो जग्गा कलाकर्मीको लागि हो भन्दै इटहरीका कलाकारहरुले आवाज उठाए पनि यो उनीहरुको एकल स्वार्थ भएको स्थानीयहरु बताउँछन् । स्थानीय मध्येका एक कृष्ण अधिकारीले कलाकारहरुलाई संकेत गर्दै स्वार्थ बोकेकाहरुको लागि यो विकासको कामले आघात पुगेको बताए । उनले स्थानीयवासी यो ठाउँमा वडा कार्यालय र स्वास्थ्य कार्यालय बन्दा कुनै बाधक नबनेको जानकारी दिए । ‘यहाँ स्वार्थ बोकेर आउनेका लागि आघात भयो । स्वार्थ नहुनेका लागि यो राहत भयो । हामीले यहाँ वडा कार्यालय र स्वास्थ्य चौकी हुनुपर्छ भनेर माग पनि गरेका छैनौँ । न त हामीले यहाँको सबै ठाउँ सक्नुपर्छ भनेका छौँ । उपमहानगरपालिकाले बैठक बसेर यो ठाउँ नै वडा कार्यालय र स्वास्थ्य चौकीका लागि उपुक्त छ भन्यो । नगरको यो निर्णयलाई हामीले स्वागत गरेका छौँ । यहाँ दुई भवन बन्दा हामी एकदमै खुसी भएका छौँ’, उनले भने । यो विकासको कामले यहाँको सौदर्य र काव्यवाटिकामा ठूलो प्रभाव नपरेको उनको भनाइ छ ।

kabya 1

अर्का एक स्थानीयले कलाकर्मीहरुलाई पनि यो ठाउँमा वडा कार्यालय र स्वास्थ्य चौकी बनाउनुपूर्वको बैठकहरुमा पटकपटक बोलाउँदा पनि नआएको जानकारी दिए । उनले यहाँ विकृति र विसंगति हुँदा कलाकर्मीहरु मौन बसेको र विकासको काममा बाधक बनेको भन्दै कलाकर्मीको माग जायज नभएको बताए । ‘२० वर्ष भइसक्यो उहाँहरुले यहाँको रेखदेख गर्न छोडेको । यो २० वर्षमा यहाँ के भयो ? यहाँ बनेका मूर्तिको अवस्था के छ ? भनेर उहाँहरु कहिल्यै आउनुभएन । अहिले यहाँ सरकारले विकासको काम गर्न लाग्यो अनि उहाँहरु विरोध गर्न आउनुहुन्छ । यहाँ कलाकर्मीका लागि उहाँहरुले भनेजस्तो नाट्यशाला बनाउने नै भए यतिका वर्ष के हेर्नुभयो’, ती स्थानीयले भने । उनका अनुसार यो जग्गा कलाकर्मीको लागि मात्र नभएर सबैको साझा हो । त्यसैले यहाँ कलाकर्मीको लागि मात्र नभएर सबैको समावेसी प्रतिनिधित्व हुने खालका भौतिक पूर्वाधार बन्नुपर्ने उनको भनाइ छ ।

कला-सँस्कृति मास्ने प्रयास भएको कलाकर्मीको आरोप

स्थानीयले २० वर्षसम्म हराएर विकास हुनै लाग्दा अबरोध गरेको भन्दै आए पनि इटहरीका कलाकर्मीहरुले कला सँस्कृतिको प्रतिकको रुपमा रहेको काव्यवाटिकाको अस्तित्व नै धरासायी बनाएको भन्दै आपत्ति जनाएका छन् । इटहरीका कलाकर्मी नवराज मैनालीले आजभन्दा झण्डै ३० वर्षअगाडि यहाँका कलाप्रेमी युवाहरुले यो ठाउँ बनाएको स्मरण गराउँदै अहिले यहाँको गरिमा नै मास्ने प्रयत्न भएको आरोप लगाएका छन् । त्यो बेलमा यहाँ कला संस्कृतिको कार्यशाला गर्ने ध्येयले बोटबिरुवा रोपिएको उनको भनाइ छ ।

‘२०४७ सालतिर यहाँका युवाहरुले यहाँ बोटबिरुवा हुर्काएका हुन् । त्यो के का लागि भने यहाँ कला संस्कृतीको कार्याशाल गर्ने उद्देश्यले । कार्यशाला भवन बनाउन नसक्दा यहाँ बोटविरुवा हुर्काएर जंगलमा परिणत गरिएको थियो’, उनले भने । स्थानीय सरकार नहुँदा कर्मचारीको ध्यान यो ठाउँको विकासमा नगएको उनको आरोप छ । सरकारको लागि भवन बनाउनुभन्दा यो ठाउँ कला सँस्कृतिकै भवन बनाउनु आवश्यक छ । ‘इटहरीमा यतिको फराकिलो ठाउँ कहीँ छैन । यो ठाउँमा वडा कार्यालयको भवन बनाउनुभन्दा कार्यशाला बनाउनुपर्छ । वडाको भवन एउटै ठाउँमा तल्ला थप्दै बनाउन सकिन्छ । तर, कार्यशाला, कला क्षेत्रको भएकाले फराकिलो ठाउँ चाहिन्छ । त्यसैले यो ठाउँ कलाकर्मीकै लागि हो’, उनले भने ।

यहाँ भौतिक पूर्वाधार बन्न अगाडि इटहरीका कलाकर्मीलाई कुनै जानकारी नभएको उनले बताए । ‘यहाँ वडा कार्यालय बन्दै गरेको कुरा इटहरीका कलाकर्मीहरुलाई थाहा नै छैन । हामीलाई त स्थानीय सरकारले यहाँ लगानी गर्दै गर्दा हामी यस्तो काम गर्दै छौँ तपाईँहरुको भिजन के छ भनेर सोध्नुपर्ने हो नि, तर हामीलाई जानकारी नै गराइएन’, उनले भने । उनले यो वर्ष स्थानीय सरकारले गरेको काम मात्र नभएर गत वर्ष पर्यटन मन्त्रालयले गरेको कामबारे पनि कलाकर्मी अनभिज्ञ रहेको बताए ।