बेलबारीः देशमा सङ्घीयता आएसँगै ३ तहको चुनाव सम्पन्न भएर जनताबाट निर्वाचित जनप्रतिनिधि आइसकेका छन् ।

सङ्घीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकार गरी ३ वटा सरकार बनिसकेका छन् । अघिल्ला वर्षमा भन्दा प्रदेश तथा केन्द्रमा सांसदको सङ्ख्या पनि बढेको छ । सङ्ख्या बढेसँगै सांसदहरू बिजनेसविहीन भइरहेका छन् ।

विकास निर्माण तथा अन्य काम मेयर उपमेयरले आफैँ गर्ने गरेका छन् । प्रदेश तथा केन्द्रका सांसदहरूले आप्mनो बिजनेस देखाउन कालोपत्रे बाटोको समेत उद्घाटन गर्ने गरेका छन् । मोरङ १ का प्रतिनिधिसभका सदस्य घनश्याम खतिवडाले आइतबार एक कार्यक्रमका बीच कालोपत्रे सडको उद्घाटन गरेका छन् ।

उनले लेटाङ–२ को ३५ बिघे सडकको उद्घाटन गरेका हुन् । ड्रेनसहितको १ हजार २ सय मिटर लामो सडकको उनले उद्घाटन गरेका छन् । नगरपालिकाको ४५ लाख र उपभोक्ताको ३७ लाख रुपैयाँको लागतमा बाटो निर्माण भएको बताइएको छ । उद्योगी भीम पौडेलले ढुङ्गा, गिटी, बालुवा लगायतका कच्चापदार्थ उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । अहिले सांसदले बिजनेस नपाएपछि सडक कालोपत्रे उद्घाटन, खुला दिसामुक्त घोषणालगायतका कार्यक्रममा अल्मलिने गरेका छन् ।

उनीहरूले आफूलाई कार्यक्रममा बोलाउन मेयर उपमेयरलाई फोन समेत गर्ने गर्छन् । खतिवडासँगै प्रदेश सभाका सदस्य उपेन्द्र घिमिरे, पूर्व सांसद डिगबहादुर लिम्बू, मेयर शङ्कर राईलगायतले एक भव्य कार्यक्रमका बीच सो सडक उद्घाटन गरेका हुन् ।