हङकङः आइतबारदेखि सुरु हुने विशेष नयाँ भिसामार्फत हङकङका तीन लाख बासिन्दाहरु बेलायत जाने अपेक्षा गरिएको छ ।
हङकङका ब्रिटिस नेसनल (बीएनओ) पासपोर्ट हुनेहरु र तिनका परिवारसमेतले स्मार्टफोनको एउटा एपमार्फत बेलायतको भिसाका लागि आवेदन दिन पाउनेछन् । यसले उनीहरुलाई स्थायी रूपमा बेलायती नागरिकता पाउने बाटो खुलाएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतको पूर्वऔपनिवेशसँगको इतिहास र मित्रताप्रति कृतज्ञता जनाएका हुन् । सन् २०२० जुलाइमा चीनले हङकङमाथि नयाँ किसिमको सुरक्षा कानुन लागु गर्ने बताएपछि नै यस विशेष भिसाबारे घोषणा गरिएको थियो ।
बेइजिङले भने आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भनेर बेलायतलाई चेतावनी दिएको छ । यस भिसाका लागि आवदेन दिनेहरुको पाँच वर्षसम्मका लागि बेलायतमा बस्न पाउने अनुमति सुनिश्चित हुन्छ । त्यसपछिको १२ महिनामा बेलायतको आधिकारिक नागरिकता पाउन सक्नेछन् । हङकङमा २९ लाख मानिसहरु नयाँ भिसाका लागि योग्य छन् । तर, अहिलेका लागि सरकारले तीन लाखले यो अफर लिने अपेक्षा गरेको छ । प्रधानमन्त्री जोन्सनले भनेका छन्, “मलाई अहिले अत्यन्तै गर्व महसुस भइरहेको छ कि हामीले ब्रिटिस पासपोर्ट होल्डर हङकङवासीहरुलाई बस्न, काम गर्न अनि हाम्रो देशलाई आफ्नो घर बनाउन ल्याउँदैछौँ ।” पाँच वर्षसम्म बस्नका लागि भिसाको शुल्क प्रतिव्यक्ति केबल २५० पाउन्ड रहेको छ । -बीबीसीबाट