खाँदबारीः उद्योग वाणिज्य सङ्घ सङ्खुवासभाले एक कार्यक्रमको आयोजना गरी खाँदबारी कारागारमा रहेका कैदीबन्दीलाई दशैं मनाउन खसी उपहार दिएको छ ।

कारागारमा रहेका कैदीबन्दीमा निराशा नआओस् भनी खसी तथा खाद्यान्न उपहार दिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज शाक्यले बताए । खसी प्रदान गर्न आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले नेपालको कानुन अनुसारको सबैले सजाय भोग्नुपर्ने हुनाले त्यसै अनुसार कैदीबन्दीलाई कानुनको पालना गर्न आग्रह गरे ।

खाँदबारी नगरपालिकाका नगरप्रमुख मुरारीप्रसाद खतिवडाले कानुनको पालना गर्नु सबै नागरिकको कर्तव्य भएको बताए । जिल्ला कारागार सङ्खुवासभामा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । २५ जनाको क्षमता रहेको कारागारमा हाल ९९ जना कैदीबन्दी रहेका छन् ।