धरानः धरानमा भोलि कात्तिक १ गतेदेखि लाग्ने मेलाको विरोधमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान मञ्च नेपालसहित ६ दलले धरानमा आज विरोध र्याली निकालेका छन् ।
लिम्बुवान मञ्चसहित सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, किरात खम्बुवान साझा पार्टी, आरके खम्बुको नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा, मङ्गोल नेशनल अर्गनाइजेशनले संयुक्त रूपमा मेलाको विरोधमा जुलुस निकालेका हुन् ।
धरान–७ स्थित शान्तिपथमा रहेको सङ्घीय समाजवादी फोरम धरान नगर कमिटीको कार्यालय परिसरबाट शुरु भएको विरोध ¥याली भानुचोक, छाताचोक हँुदै धरान उपमहानगरपालिकाको मुख्य गेटमा पुगेर पुनः भानुचोकमा आएर कोणसभामा परिणत भएको थियो । मेलाको विरोधमा वाइसिएलले समेत सहभागिता जनाएको थियो । सुरक्षाकर्मीहरू परिचालित धरान उपमहानगरपालिकाको मुख्य गेट अगाडि मेलाको विरुद्ध चर्को नाराबाजी समेत गरिएको थियो ।
एम्बुलेन्स खरिद नाटकमात्रै होः सङ्घीय लिम्बुवान मञ्च
सङ्घीय लिम्बुवान मञ्च नेपालका सुनसरी अध्यक्ष अमर इजमले सुरक्षाको दृष्टिले धरान अति संवेदनशील क्षेत्र रहेकाले दुई ठाउँमा मेला लगाउने निर्णय फिर्ता लिनुपर्ने बताए । सरकारले स्वास्थ्यको क्षेत्रमा विभिन्न सुविधा दिइरहेको अवस्थामा एम्बुलेन्स खरिदको बहानामा मेला लगाउन दिनु नाटकमात्रै भएको उनले बताए ।
‘एम्बुलेन्स खरिद गर्ने त नाटक मात्र हो,’ उनले भने, ‘कसैको व्यक्तिगत इन्ट्रेष्टमा मेला लगाउन लागिएको हो । यस्तो मेलाले विकृति भित्राउँछ ।’ विगतका मेलामा विभिन्न आपराधिक घटना भएकाले सबै राजनीतिक दलको सहमतिमा धरानमा मेला लगाउन रोक लगाइएको उनले बताए । चाडबाडको समयमा जनताको सुरक्षामा खटिने प्रहरी मेलामा अल्मलिँदा आपराधिक घटना बढ्न सक्नेतर्फ नगरपालिकालाई उनले सजग गराए ।
‘एक महिनासम्म मेला लगाउँदा सुरक्षामा मात्र होइन, मेला आसपासाका सर्वसाधारणको स्वास्थ्यमा पनि गम्भीर असर पुग्छ’, उनले आक्रोश पोखे, ‘यसबारेमा नगरपालिकाले किन सोच्दैन ?’
नगरपालिकाले भने चाडपर्वमा रमाइलोका साथै सामाजिक कामको लागि मेला लगाउन स्वीकृति दिएको दाबी गर्दै आएको छ । धरान– १५ का वडाध्यक्ष नरेशकुमार इवारमको संयोजकत्वमा गठित ५ सदस्यीय अनुगमन समितिले मेलाको चुस्त रूपमा अनुगमन गर्ने भएको छ । जसका लागि विभिन्न मापदण्ड तयार पारिएको बताइएको छ ।
समितिले मेला रातको ९ बजेसम्म मात्र लगाउन पाइने, सुरक्षा व्यवस्था मजबुत बनाउने, कानुनले बर्जित गरेका जुवाजन्य खेल राख्न निषेध गरेको छ । समितिले प्रत्येक दिन बेलुका अनुगमन गरी सङ्कलन गरेको रायसुझाव नगरपालिकामा पेश गर्ने निर्णय समेत गरेको छ ।
शुल्कको विषयमा विगतमा चर्को प्रवेश शुल्क लिँदै आएकोमा यसपटक त्यसको अन्त्य गर्दै प्रवेश शुल्क २५ रुपैयाँ तोकिएको छ । राष्ट्रिय कलाकारहरू आउँदा भने अधिकतम प्रवेश शुल्क १ सय रुपैयाँ निर्धारण गरिएको छ ।
विरोधका बीच स्टलहरू तयार गरिँदै
धरान–१२ को छिमेकी युवा समूहले लगाउन लागेको मेलाको लागि पब्लिक स्कुलको खेलमैदानमा मेलाका स्टलहरू धमाधम निर्माण भइरहेका छन् । मेलाको तीव्र रूपमा विरोध भइरहँदासमेत मेला आयोजकले स्टलहरू बनाइरहेको छ ।
मनोरञ्जनका लागि रोटे पिङ, नाउलगायतका खेल सञ्चालनको लागि निर्माण कार्य भइरहेको छ । धरान उपमहानगरपालिकाको असोज २५ गतेको कार्यपालिका बोर्डले छिमेकी युवा समूह र धरान–६ को सयपत्री ब्वाइज युनियन क्लबलाई मेला लगाउन स्वीकृति दिएको थियो । तर, उपमहानगरको निर्णयप्रति धरानका राजनीतिक दलले चर्को विरोध जनाइरहेका छन् ।