इटहरीः चोक, बजार जताततै दशैंको माहोलले छपक्कै छोपेको छ । हाटबजार भरिभराउ हुन थालेका छन् । भीडभाडले सडक अस्तव्यस्त भइरहेको छ । सडकमा धुलोको अनुपात बढेको छ । त्यही धुलोमा दशैको जोहो गर्नेहरू पनि त्यत्तिकै भेटिन्छन् ।

इटहरी चोकको पश्चिमलाइनमा जुत्ताचप्पल सिलाइ गर्ने उपेन्द्र हरिजनलाई दशैं लागेको हो कि दशा हो भन्ने छुट्याउन गाह्रो परिरहेको छ । दैनिक गुजारा चलाउन नै समस्या भइरहेको बताउने उनी दशैंको अतिरिक्त खर्चको लागि ऋण लिनुपर्ने सुनाउँछन् । आजकालको दशैंमा कुनै उत्साह नभएको उनी बताउँछन् । बर्सेनी खर्चिलो बन्दै गएको कारण दशैंले अप्ठ्यारोमा पारेको उनको भनाइ छ । पहिला घरायसी सामानले नै दशैं धान्न सकिन्थ्यो तर अहिले बजारमा किनमेल नगरी दशैं मनाउनै नसकिने भएको उनको अनुभव छ ।

jutta siudai

हरिजनको छेवैमा उखुको रस बेच्छन् शङ्करप्रसाद आचार्य । उनी पनि महङ्गिएको दशैंप्रति चिन्तित देखिन्छन् । गरीबको लागि दशैंसँगै दशा आएको भान भएको उनी सुनाउँछन् । आफू माछा मासु नखाने भए पनि अन्य खर्चको लागि ऋण गर्नुपर्ने बाध्यतामा परेको उनको भनाइ छ ।

‘यसरी रवाफ देखाउन थालियो भने गरीबले चाडपर्व मनाउनै सक्दैनन्,’ उनी भन्छन्, ‘अब हामीले आफ्नो दक्षताभन्दा धेरै खर्च गरेर भावी सन्ततिलाई समस्यामा पार्ने काम गर्नुहुन्न ।’

juice bechdai

पश्चिमलाइनमै मकै पोलेर बेच्ने इन्द्र आचार्य कम बोल्न रुचाउँछन् । दशंैको कुरा गर्ने बित्तिकै उनी मलिन हुन्छन् । खर्च अभावले दशैं खल्लो बन्दै गइरहेको उनको भनाइ छ । ‘जति पर्व आए पनि मकै नपोली खान पुग्दैन,’ उनी भन्छन्, ‘पहिला २ हजारमा दशंै मनाइन्थ्यो अहिले १० हजार भएन भने दशैं मनाउनै सकिँदैन ।’ छोराछोरीले भनेजस्तो पुर्याउन नसक्दा समस्या परेको उनी सुनाउँछन् ।

makai poldai

ठूला महल अगाडि सानो व्यापार गर्छिन हाही चौधरी । इटहरीको धरानलाइनमा केही मुठा साग राखेर बेच्छिन् उनी । छेवैका ठुला महलमा आएका केही शाकाहारी मान्छेलाई रुँगेर उनको दैनिकी चलिरहेको छ । दशैंमा माछामासु बढी खपत हुने भएकाले व्यापार कम भएको उनी बताउँछिन् । जहिले पैसा बढी चाहिन्छ त्यही बेला व्यापार कम हुने गरेको उनी सुनाउँछिन् । छोराबुहारी र नातिनातिनालाई नयाँ लुगा किन्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

पछिल्लो समय महङ्गो बन्दै गइरहेका पर्वहरूका कारण निम्न वर्गका नेपालीको लागि दशैं दशाको रूपमा देखा परिरहेको छ । देखासेखी गर्ने प्रचलनले सबैभन्दा बढी समस्यामा गरीब जनता परिरहेका छन् ।