उत्तर भारतमा एउटा हिमनदीमा बाढी आएर बाँध भत्कँदा दर्जनौँ बेपत्ता भएको र कैयौँको मृत्यु भएको आशङ्का गरिएको छ । उत्तराखण्डस्थित बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो भेल पसेको थियो । अधिकारीहरूका अनुसार १२५ जनाभन्दा बढी गाउँलेहरू हराएको हुन सक्छ । सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा बाढीको भेल तीव्र गतिमा पसेर धेरै नोक्सानी पु¥याएको देखिन्छ । चमोली जिल्लाको धौलीगङ्गा नदीमा तीव्र गतिमा पानीको प्रवाह भएको देखिएको छ जसले बाँध भत्काइदिएको छ ।

majadur.

अधिकांश मजदुर
हराइरहेकामध्ये अधिकांश त्यहाँ जलविद्युत्‌ आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ । “भेल एकदमै छिटो आयो, कसैलाई सचेत गराउन भ्याइएन,“ नजिकैको गाउँमा रहेका सञ्जयसिँह रानाले रोयटर्स समाचार संस्थालाई बताए । “मलाई त हामीलाई पनि बगाउँछ जस्तो लागेको थियो ।“ उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले १२५ जना हराइरहेको अहिलेसम्म पुष्टि भएको बताएका छन् । तर अधिकारीहरूका अनुसार त्यो सङ्ख्या बढ्न सक्छ । “सातवटा शव फेला पारिएको छ र उद्धार कार्य जारी छ,“ रावतले पत्रकारहरूलाई भने ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन गरिरहेको बताएका छन् । “सबैको कुशलताका निम्ति देशले प्रार्थना गरिरहेको छ,“ उनले ट्विटरमा लेखेका छन् । पश्चिमी हिमालय क्षेत्रमा रहेको उत्तराखण्ड अचानक आउने बाढी र पहिरोको उच्च जोखिममा पर्छ । सन् २०१३ को जुन महिनामा ठूलो वर्षापछि आएको बाढीका कारण करिब ६,००० मानिसको ज्यान गएको थियो । -बीबीसी