दुहबीः सुनसरीको दुहबीमा थारु कल्याणकारिणी सभा नगर कमिटी दुहबी र थारु महिला सभा दुहबीको संयूक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

बडादशैं, दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा थारु अगुवाहरू, समाजसेवी, बुद्धिजीवीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागीहरूले संस्कृति संरक्षणसँगै सामाजिक
विकृतिलाई निर्मूल पार्न सुझाव दिनुका साथै सम्पूर्ण समुदायको समुचित विकासमा महिलाको अहम् भूमिका हुने बताएका थिए ।

थारु समुदायको विकासका लागि पनि महिला प्रतिनिधि खडा हुनुपर्नेमा जोड दिँदै छरिएर रहेका महिलालाई सङ्गठित गरी थारु
संस्कार र संस्कृतिको संरक्षण तथा सामाजिक विकासमा आमूल परिवर्तन गर्नुपर्ने सहभागीको भनाइ थियो । कार्यक्रमकी प्रमुख अतिथि पूर्व मन्त्री सुमित्रा विश्वासले थारु कल्याणकारिणी सभालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

थारु महिला सभा दुहबीकी अध्यक्ष लीलादेवी चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमका विशिष्ट अतिथि थारु कल्याणकारिणी सभाका केन्द्रीय सल्लाहकार मिलिराम चौधरीले थारु समुदायको हक, अधिकार प्राप्तिका लागि आवाज उठाउने र थारु समुदायको उत्थानमै केन्द्रित रहने बताए । उनले दुहबीमा बृहत गोठाले महोत्सव गरिने र यसका लागि छलफल भइरहेको समेत बताए ।

duhabi subhakamana (1)