इटहरीः हिन्दूहरूको महान पर्व विजयादशमीको आज मुख्य दिन हो । आजको दिनलाई विजयादशमी पनि भनिन्छ । असत्यमाथि सत्यको विजय भएको दिनलाई विजयादशमीको रुपमा मानिँदै आइएको छ । यस पर्वका बारेमा अनेक किंवदन्ती छन् । कतिपय किंवदन्ती विवादित पनि छन् । जे भए पनि हिन्दूहरुको सबैभन्दा ठूलो चाडको रूपमा यस चाडलाई लिइन्छ ।
टीकाको साइत ९ बजेर ५१ मिनेट जाँदा
पञ्चाङ्ग निर्णायक समितिका अनुसार आजको टीकाको साइत बिहान ९ बजेर ५१ मिनेटमा रहेको छ । टीका लगाउन साइत नचाहिने भए पनि साइत खोजेर लगाउनेका लागि सो साइत उपयुक्त भएको तर आज बिहान उज्यालो भएदेखि नै टीका लगाउन कुनै बाधा नरहेको समितिले जनाएको छ ।
टीका लगाउँदा दिइने आशीर्वाद
टीका लगाउँदा मान्यजनको हातबाट लगाउने चलन छ । टीकासँगै आशीर्वाद पनि दिइन्छ । संस्कृत भाषामा दिइने सो आशीर्वादको श्लोक र अर्थ यसप्रकार छः
पुरुषलाई टीका लगाइदिँदा दिइने आशीष
आयु द्रोण सुते, श्रियं दशरथे शत्रुक्षयं राघवे
ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानं च दुर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
यसको अर्थ
द्रोण पुत्र अश्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, राघव अर्थात् रामको जस्तो शत्रु हराउने क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, हावाको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस् ।।
सूर्यपुत्र झै शान्त रहनू, भीमको जस्तो बल होस्, कुन्तिका छोरा युधिष्ठिरको जस्तो सत्यवान हुनू, विदुरजस्तो ज्ञानी हुनू अनि नारायणको जस्तो कीर्ति रहोस्
महिलालाई टीका लगाइदिंदा दिइने आशीर्वाद
जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते।
अर्थः
ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सामथ्र्य राख्दछिन्, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन्, समयको पाबन्दीभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँदछिन अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्छिन् । यो जगतको रक्षा गर्ने हे देवी यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।
पुरुषलाई दिइने आशीषजस्तो महिलालाई दिइने आशीषको यस श्लोकमा आशिष नभए पनि देवीको स्तुति गरी देवीजस्तै सामथ्र्यवान् रहनू भन्ने भाव व्यक्त भएको पाइन्छ ।