इटहरीः शुक्रबार बिहान दशैको शुभ साइतपछि एउटा फोटो एकाएक फेसबुकमा लोकप्रिय भयो । विजयादशमीको शुभ साइत (९ बजेर ५१ मिनेट) को १ घण्टापछि अपलोड भएको तस्बिरलाई धेरैले मन पराए ।

अस्पतालको २०७ नम्बरको शैयाका बिरामीले टीका लाएको तस्बिरमा देखिन्छ। सो तस्बिरमा वृद्धले लगाइदिँदै गरेको अक्षताको थाली अर्का व्यक्तिले समाएका छन् । थाली समाउनेको हात मात्रै देखिन्छ । भित्तामा रहेको धड्कन नाप्ने यन्त्रको मोनिटरले प्रतिमिनेट १३० पटकका दरले मुटु धड्किएको देखाएको छ ।

मानिसको मुटुको सामान्य धड्कन प्रतिमिनेट ७२ पटकदेखि १०० पटकसम्म मानिन्छ । तर, ती वृद्ध बिरामीको धड्कन असामान्य थियो । यस्तो असामान्य अवस्थामा पनि ती वृद्धले सामान्य भएर मुस्कुराएर टीका लगाइरहेका छन् ।

समिता मिश्रले यो मन छुने तस्बिर आफ्नो फेसबुकको भित्तामा पोस्ट गर्दै ‘आज इन्टरनेटमा आएको सबैभन्दा आकर्षक तस्बिर’ भनिन् । झापाकी कवि सम्पदा रिजालले मिश्रभन्दा एक कदम अगाडि बढेर लेखिन्, ‘वर्षकै उत्कृष्ट तस्बिर ।’

यस्तो छ सो तस्बिरको कथा
तस्बिरमा देखिएका वृद्ध हुन् ८० वर्षीय गणेशबहादुर श्रेष्ठ । नेपाल क्यान्सर अस्पतालमा पित्तथैलीको क्यान्सरको उपचार गराइरहेका छन् श्रेष्ठ । श्रेष्ठसँग दशैंको टीका लगाउन अस्पतालको शैयामै पुग्छन् आफन्तजनहरू ।

११ बजे असापास श्रेष्ठले आफन्तलाई टीका लगाइरहेकै अवस्थमा ड्युटी गर्न पुगिन् नर्स विनिता खतिवडा । मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोकी खतिवडाले पनि त्यही बेलामा टीका लगाइन् ।

११ बजेदेखि ७ बजेसम्म गर्नुपर्ने ड्युटीमा आएकी उनलाई टीका लगाउने जाँगर चल्नुमा उनले यस पटक घरमा गएर दशैं मान्न नपाएर हो । यही वर्षको असारबाट मात्रै सो अस्पतालमा जागिर शुरु गरेकाले घर जान नपाएको खतिवडाले बताइन् । उनले भनिन्, ‘म ड्युटीमा पुग्दा टीका लगाएको देखँे र मैले पनि लाएँ ।’

भक्तपुरको ठिमीमा डेरा गरी बस्ने खतिवडाले आफूले दशैं मान्न नपाएको रहर आफ्ना वृद्ध बिरामीबाट पूरा गर्न पाएकोमा खुशी व्यक्त गरिन् । उनले भनिन्, ‘दशैंमा टीका लाउने र आशीर्वाद लिने हो । मैले उहाँबाट त्यो दुवै गरेँ । मैले ड्युटीमै दशैं मनाउन पाएँ ।’