चितवनः संरक्षण र सम्वद्धनका धेरै कार्यक्रम भए पनि चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्ने क्रम रोकिएको छैन ।

चोरीशिकारी र प्राकृतिक कारणले निरन्तर गैँडा मर्ने क्रम नरोकिएपछि सर्वत्र चिन्ता छाएको छ । फेरि बुधबार दुई वर्षको पोथी गैँडा (केटी) मृत फेला परेको घटनाबाट झन् संरक्षणकर्मी झस्किएका छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका–१७ स्थित अमलटारीअन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा करिब दुई वर्ष उमेरको पोथी बच्चा गैँडा मृतावस्थामा फेला परेको छ । सो गैँडाको बच्चा प्राकृतिक कारणले मरेको प्रारम्भिक अनुमान गरिएको र थप कुरा अनुसन्धानपछि मात्रै खुल्ने उनको भनाइ छ ।

मृत्युको कारणबारे थप अध्ययनका लागि आवश्यक नमूना सङ्कलन गरी भेटेरिनरी शाखामा पठाइएको अधिकारीले बताए । उक्त बच्चाको ब्रह्म खाग खुर सुरक्षित रहेका छन् । चालु आर्थिक वर्षको हालसम्म योसहित २५ गैँडा मरिसकेका छन् । तीमध्ये चारवटा शिकारीले मारेका हुन् भने २१ वटा प्राकृतिक कारणले मरेको जनाइएको छ । -रासस