इटहरीः पोखराका दिवस गुरुङ २५ दिने साइकल यात्राको लागि प्रदेश १ मा आएका छन् । उनले उदयपुरबाट शुरु गरेको साइकल यात्राले प्रदेश १ का सबै १४ जिल्ला फन्को मार्ने लक्ष्य लिएका छन् ।

शनिबार बिहान ९ बजे इटहरीमा भेटिएका २४ वर्षीय साइकल यात्री गुरुङले प्रदेश १ पोखरा क्षेत्रभन्दा धेरै भर्जिन भएकाले आएको बताए । ‘म पहिलोपटक प्रदेश १ आएको हुँ । प्रदेश ३ र ४ जस्तो पर्यटकीय चहलपहल अलिक छैन प्रदेश १ मा’, गुरुङले भने, ‘मैले यो यात्रा गरेर एक खाले पर्यटन म्याप बनाउन खोजेको हुँ ।’

नेपाल भ्रमण वर्ष २०२० देखि साइक्लिङ अनि रक्तदान र अटिजम बारेमा सन्देश दिन पनि आफूले यात्रा गरेको गुरुङले बताए । असोज ३० गते उदयपुरबाट साइकल यात्रा शुरु गरेका गुरुङले सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर हुँदै ताप्लेजुङ पुगेर पूर्वी पहाडी र पूर्वी तराईको जिल्ला छिचोल्ने बताए ।

ताप्लेजुङबाट तमोर करिडोर हुँदै धनकुटा तथा धनकुटाबाट कोशी लोकमार्ग हुँदै तेह्रथुम, सङ्खुवासभा र भोजपुर जाने गुरुङले बताए । भोजपुरबाट, खोटाङ, ओखलढुङ्गा अनि सोलुखुम्बु पुगेर प्रदेश १ का १४ जिल्ला छिचोल्ने गुरुङले बताए ।

वन विज्ञानका विद्यार्थी गुरुङले प्रदेश १ को २५ दिनमा सबै जिल्ला समेट्ने बताए । त्यसपछि प्रदेश २ र ३ का जिल्लामा १५ दिन बिताउने उनको भनाइ छ । यस अगाडि लुम्बिनी, सिन्धुलीजस्ता छोटो र मझौला दूरीको साइकल यात्रा गरिसकेको र यो आफ्नो पहिलो लामो रुट भएको उनी बताउँछन् । उनले भने, ‘साइकल रुट र पर्यटकीय गन्तव्यको पहिचान अनि प्रवद्र्धन गर्न मैले ४० दिन छुट्याएको हुँ ।’

pokharaka cyclist dibas gurung (1)