खोटाङः खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा स्थानीय बासिन्दाकै सक्रियतामा गाउँमा दूधकोसीको पानी पुर्याइएको छ ।
स्थानीय बासिन्दाले दूधकोशीको पानी लिफ्टिङ प्रविधि अपनाएर गाउँमा लगेका हुन् । सुक्खाग्रस्त क्षेत्रमा पर्ने बाहुनीडाँडाका स्थानीय बासिन्दाले घरायसी प्रयोजन तथा कागती खेती, बाख्रा तथा कुखुरापालन गर्न करिब एक हजार सात सय ९० मिटरमाथि रहेको थामडाँडामा दूधकोशीको पानी निकालेका छन् । दूधकोशीको सान्ने दोभानबाट २० किलोवाट क्षमताको सोलार प्यानल जडान गरेर गाउँमा नदीको पानी निकालिएको उपभोक्ता समितिका कोषाध्यक्ष चन्द्रबहादुर कार्कीले बताए । दूधकोसी नदीको पानी सात सय २५ मिटरमाथि निर्माण गरिएको पहिलो पोखरीमा जम्मा गरेर पुनः त्यहाँबाट तानेर थामडाँडाको दोस्रो पोखरीमा जम्मा गरिएको उनको भनाइ छ । दूधकोसी नदीको पानी गाउँमा निकाल्न सर्वोच्च अदालतमा कार्यरत वकिल जगतबहादुर कार्कीको प्रमुख भूमिका रहेको छ । विशेषगरी प्रल्हाद कार्की र तिलक कार्कीको कुखुरा फार्म, कमल कार्कीको बाख्रा फार्म र चन्द्र कार्कीको कागती खेतीका लागि दूधकोसीको पानी तान्ने विकल्प अघि सारिएको थियो । खानेपानी अभावमा काकाकुल अवस्थामा जीवन निर्वाह गरिरहेका बाहुनीडाँडामा नदीको पानी निकालिएपछि केही राहत मिलेको छ ।
कदुवामा पानी ल्याउने कुनै स्रोतको विकल्प नभएकाले नदीको पानी लिफ्ट गरेर गाउँमा निकालिएको स्थानीय बासिन्दा एवं व्यवसायी फौदसिं कार्कीले बताए । बिहान साढे ९ बजेदेखि दिउँसो ३ बजेसम्म प्रतिघण्टा चार हजार लिटरका दरले पानी गाउँमा निकाल्ने गरिएको उनको भनाइ छ । कार्कीले गाउँमा निकालिएको पानी कदुवाका स्थानीय बासिन्दाले पिउनका लागि समेत उपयोग गरिरहेको जानकारी दिए । उपभोक्ता समितिका अध्यक्ष नीरकुमार कार्की, उपाध्यक्ष कमलबहादुर कार्की, सचिव तिलक कार्की, कोषाध्यक्ष चन्द्रबहादुर कार्की, सदस्य प्रल्हाद कार्की, विदुर कार्की, सन्तोष प्रधानलगायतका व्यक्तिको करिब ४५ लाख रुपैयाँको लागतमा पानी निकालिएको जनाइएको छ । लिफ्टिङ खानेपानी योजनाको ट्याङ्की निर्माणलगायत कतिपय काम अझै बाँकी नै रहेको उपभोक्ता समितिले जनाएको छ । नेपाल ऊर्जा विकासले लिफ्टिङ योजनाको सोलार तथा पम्प जडानलगायतका कामको जिम्मा लिएको थियो । करिब २५–३० लाख रुपैयाँमा लिफ्टिङको काम पूरा गर्ने योजना बनाइए पनि अनुमान गरिएभन्दा बढी खर्च भएको जनाइएको छ । लिफ्टिङ योजना सफल बनाउन कदुवाका ८० घर स्थानीयवासीले श्रमदानसमेत गरेका छन् ।
श्रमदान गरेवापत उनीहरुले हाल लिफ्टिङ गरेर निकालिएको दूधकोसी नदीको पानी उपयोग गर्ने अवसर पाएका छन् । दूधकोसीबाट लिफ्टिङ गरिएको पानी बाहुनीडाँडास्थित मालिकादेवी माविलाई पनि उपलब्ध गराइएको छ । उपभोक्ता समितिले नदीबाट निकालिएको पानी विद्यालयलाई निःशुल्क उपलब्ध गराएपछि यसअघि दिउँसोका लागि उपभोग गर्न घरैबाट पानी बोकेर विद्यालय जाने विद्यार्थीलाई समेत सहज भएको छ । हलेसी तुवाचुङ नगरपालिकामा दूधकोशीको पानी निकाल्न हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको काम भइरहेको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने उक्त बृहत् पम्पिङ खानेपानी आयोजनाको काम भइरहेको अवस्थामा कदुवाका स्थानीय बासिन्दाले आफ्नै पहलमा नदीको पानी निकालेका हुन् ।
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका उपभोक्तालाई लक्षित गरेर दूधकोसीको पानीलाई लिफ्ट गरेर गाउँमा निकाल्ने काम तीव्रगतिमा अगाडि बढाइएको छ । त्रिधार्मिकस्थल हलेसीसमेत रहेको क्षेत्रका करिब २० हजार उपभोक्तालाई वितरण गर्ने गरी नदीको पानी तान्न सडक निर्माण, विद्युत् विस्तार र वितरण केन्द्रको ट्याङ्की निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । मुख्य वितरण केन्द्र रहने हलेसीको काभ्रे र अर्को मुख्य वितरण केन्द्र रहने डिकुवाको भुम्जुडाँडामा ट्याङ्की निर्माणको काम सम्पन्न भइसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले जानकारी दिए । विद्युत्मार्फत सल्लेको महादेवबेँसीबाट तानिने पानीलाई एक हजार सात सय ५८ मिटरको उचाइमा पर्ने हलेसीको काभ्रेमा जम्मा गरेर गाउँमा वितरण गर्ने योजना बनाइएको छ । -रासस