लण्डनः बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त भएका छन् । दोस्रो सन्तानलाई जन्म दिने तयारीमा रहेकी उनकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्वीकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो । केही महिना अगाडि उनीहरूले नै मानपदवि त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरेपनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो । शुक्रबार महारानी एलिजावेथ द्वितीयाले उनीहरूको मानपदवि खारेज भएको घोषणा गरेकी हुन् ।
बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनीहरूको मानपदवि खारेज भएको घोषणा गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ । महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अव राजनीतिक तथा सार्वजनिक सम्वन्ध नरहेको उल्लेख गरेकी अधिकारीहरूले जनाएका छन् । राजपरिवारको सदस्यका रूपमा उनीहरूको अब कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ । गत वर्ष मार्चमा ह्यारी र मेघनले सामाजिक सञ्जालहरूमा पनि आफ्नो अन्तिम पोस्ट गर्दै बेलायती राजपरिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो भूमिका छोड्ने घोषणा गरेका थिए ।
उनीहरू अहिले सामाजिक सञ्जालहरूबाट पनि टाढा छन् । सामाजिक सञ्जालमा धेरै घृणा सहनु परेको कारण ह्यारी र मेघनले ट्विटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा आफूहरू प्रस्तुत नहुने निर्णय गरेको टाइम्स अफ लन्डनले लेखेको थियो । उनीहरू सामाजिक सञ्जालमा चाँडै फर्किहाल्ने संकेत देखिएको छैन । हलिउड अभिनेत्री मेघनसँगको प्रेम सम्बन्धलाई ह्यारीले वैवाहिक जीवनमा परिणत गरेका हुन् । उनीहरूका अहिले एक छोरा छन् भने अर्को जन्माउने निश्चित भइसकेको जनाइएको छ । -एजेन्सी