वासिङ्टन डीसीः अमेरिकाले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौतामा फर्कने संकेत दिएको छ ।
पूर्वराष्ट्रपति बाराक ओबामाका पालामा भएको यो सम्झौता निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले तोडेका थिए । हालका राष्ट्रपति जो बाइडेनको प्रशासनले सो सम्झौताका शर्तहरू स्वीकार गर्न तयार रहेको बताएको हो । सम्झौता तोडिएपछि प्रत्युउत्तरमा ईरानले व्यापक मात्रामा परमाणु प्रशोधन र यो प्रयोग गरी हतियार बनाइरहेको छ । सम्झौता तोडेको अमेरिका फेरि लचक हुनुको मुख्य कारण यही हो । सन् २०१५ मा भएको सम्झौतामा अमेरिकालाई फिर्ता गर्न बेलायत, फ्रान्स र जर्मनका विदेशमन्त्रीहरूको बैठक हालै आयोजना गरिएको थियो ।
इरानले भने अमेरिकाबाट लादिएका सबै आर्थिक प्रतिबन्ध हटेमात्रै सम्झौता पालना गर्ने जवाफ दिएको छ । ट्रम्पले ३ वर्ष पहिले सो सम्झौताबाट हात झिक्दै ईरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका थिए । -एजेन्सी