बेइजिङः चीनले गत जुनमा भारतीय सैनिकसँगको झडपमा परी मारिएका सैनिकहरूबारे सामाजिक सञ्जालमा ’नकारात्मक’ पोष्ट गर्ने कम्तिमा छ जनालाई पक्राउ गरेको छ ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार ती सामाजिक सञ्जाल प्रयोगकर्तालाई तीन वर्षअघि ल्याइएको बहादुर र सहिदहरूको अपमान गर्न नपाउने कानुनअन्तर्गत अनुसन्धान र सजाय भएको हो । चीनले गल्वानमा भारतीय सेनासँग भएको झडपमा ज्यान गुमाएका चिनियाँ जनमुक्ति सेनाका चार जनालाई शुक्रबार मरणोपरान्त सम्मान गरेपछि उनीहरूले ज्यान गुमाएको खुलासा भएको थियो । गत जुनमा गल्वान उपत्यकामा भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। झडपमा चिनियाँ पक्षतिर पनि हताहती भएको हुनसक्ने आशंका गरिएको थियो तर बेइजिङले औपचारिक जानकारी दिएको थिएन ।

सरकारले ढिला गरी चार जना सैनिकले ज्यान गुमाएको खुलासा गरेपछि केही सामाजिक सञ्जाल प्रयोगकर्ताले घटनामा ज्यान गुमाउनेहरू सहिद नभएको र गल्वानमा अरू धेरै सैनिक मारिएको हुनसक्ने भन्दै ब्लग र सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । पक्राउ परेकामध्ये तीन जना आफैं प्रहरी कार्यालय पुगेका थिए । -एजेन्सी