इटहरीः मोरङको विराटनगरस्थित जिल्ला अदालत परिसरबाट हिजो दिउँसो ३ः३० बजे दुई जना लागूऔषध मुद्दाका अभियुक्त फरार भएका छन् ।

फरार हुनेहरुमा मोरङको कटहरी कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार अदालतबाट पाँच पाँच दिनको म्याद गरी फर्कने बेलामा हत्कडीसहित उनीहरु फरार भएका हुन् । अभियुक्त शेखलाई गएको आइतबार मोरङको कटहरीबाट आठ ग्राम ब्राउनसुगर र त्यसको तौल जाँच्न प्रयोग गरिने मेसिनसहित पक्राउ गरेको प्रहरीले अर्का अभियुक्त चौधरीलाई विराटनगरको बरगाछीबाट लुपिजेसिक, डाइजेल्याब, एभिल, फेनारगनसहितका लागूऔषधसहित सोही दिन पक्राउ गरी दुवै जनालाई भोलिपल्ट म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

म्याद थप गरिसकेपछि खाजा खानका लागि अदालत परिसरमै रहेको क्यान्टिनमा गएका अभियुक्तहरु प्रहरीको आँखा छलेर क्यान्टिनबाटै फरार भएको प्रहरीको भनाइ छ । अभियुक्त फरार भएपछि तत्काल जिल्ला प्रहरी कार्यालय मोरङलाई जानकारी दिनुपर्नेमा अभियुक्तका साथमा रहेका प्रहरीले ३ः३० बजे भएको घटनाबारे साँझ ६ बजे मात्र जानकारी गराएका कारण प्रहरीले हालसम्म पनि अभियुक्तहरु फेला पार्न सकेको छैन । अभियुक्तको खोजी कार्यलाई तिव्रता दिएको बताउँदै प्रहरीले लापरबाहीपूर्वक काम गर्ने केही प्रहरीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।