धरानः धरान– १३ को वडा कार्यालय परिसरमा रहेको खाली जग्गामा हेल्थ पार्क बनाउने अवधारणा अघि सारिए पनि हालसम्म निर्माण पक्रिया अघि बढेको छैन ।

धरान उपमहानगरपालिकाले स्वीकृति दिएको ४ वर्ष बितिसक्दा पनि निर्माण समितिले निर्माण कार्य अघि नबढाएको हो । प्रदीप थापा नेतृत्वको शहीद लखन थापा हेल्थ पार्क निर्माण समितले ‘शहीद लखन थापा स्मृति हेल्थ पार्क’ बनाउन नगरपालिकामा प्रस्ताव पेश गरेको थियो । सो प्रस्तावलाई नगरपालिकाले २०७१ साल असार ६ मा स्वीकृति दिएपछि तत्काल निर्माण कार्य अघि बढाउने प्रतिबद्धतासमेत निर्माण समितिले जनाएको थियो । तर, समितिले हालसम्म निर्माण कार्य अघि नबढाउँदा नगरपालिकासमेत अन्योलमा परेको छ ।

तत्कालीन धरान नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा रहेका बेला हेल्थ पार्क बनाउने समितिलाई स्वीकृति दिइएको थियो । तर, निर्माण समितिले हालसम्म पनि हेल्थ पार्कको निर्माण कार्य अगाडि नबढाएको उपमहानगरपालिकाका योजना प्रमुख एवं वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले बताए ।

health park dharam (5)

उनका अनुसार पहिलेदेखि नै त्यो क्षेत्रमा बिहान र बेलुका मानिसहरू हिँडडुल गर्ने (मर्निङ वाक गर्ने) भएकाले निःशुल्क रूपमा व्यायाम गर्ने सुविधाका लागि हेल्थ पार्क बनाउन लागिएको थियो । समितिले आफ्नै लगानीमा हेल्थ पार्क निर्माण गर्ने नगरपालिकामा प्रस्ताव पेश गरेअनुसार नगरपालिकाले बनाउन स्वीकृति मात्र दिएको योजना प्रमुख श्रेष्ठले बताए ।

‘संस्थाले निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गर्ने भनेपछि नगरपालिकालाई कुनै ‘लसेस’ हुने नदेखिएकाले स्वीकृति दिइएको हो’, योजना प्रमुख श्रेष्ठले भने, ‘त्यसमा कुनै जिम्मेवारी बाँडफाँड गरिएको छैन । समितिले आफैँ निर्माण गर्ने हो ।’

करिब १५ कठ्ठा क्षेत्रफल रहेको जग्गालाई बीचमा खहरे खोलाले काटेको छ । हेल्थ क्लबसहित चिल्ड्रेन पार्क र शहीद लखन थापाको शालिक राख्ने नक्साङ्कनसमेत समितिले पेश गरेको प्रस्तावपत्रमा उल्लेख छ । करिब १ करोड निर्माण खर्च लाग्ने समेत प्रस्तावपत्रमा उल्लेख छ ।

खहरेमा रिटेनिङ वाल लगाएर जग्गा निकाल्ने भनी नगरपालिकासँग मौखिक सहमति भएको उपमहानगरका सामाजिक महाशाखा प्रमुख गणेश खतिवडाले बताए । सहमतिअनुसार नगरपालिकाले केही माटो पुर्ने कामसमेत गरेको उनले सुनाए । त्यसमा निर्माण समितिले पनि माटो पुर्ने काम गरेको थियो । तर, पार्क निर्माण कार्य अगाडि नबढाएकाले नगरपालिकाले अरु सामाजिक संस्थालाई निर्माण गर्न दिने वा अहिलेकै समितिलाई दिने भन्ने अन्योल सिर्जना भएको छ ।

‘अन्य संस्थाहरूले पनि हेल्थ पार्कको लागि मागिरहेको छ,’ उनले भने, ‘निर्माण समितिले नबनाउने हुँदा अरुसँग नगरपालिकाले सहकार्य गर्न सक्छ ।’ रोटरी क्लबसहित अन्य संस्थाहरूले हेल्थ पार्क बनाउनको लागि जग्गा माग गरिरहेका छन् । वडा समिति पनि त्यो क्षेत्रमा हेल्थ पार्क नै बनाउने पक्षमा छ । केही महिना अघि वडाले खहरेको डिलमा माटो पुर्र्ने काम समेत गरेको थियो ।

माटो पुर्ने काममा करिब १ लाख रुपैयाँ खर्च गरिएको वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए । खहरेले कटान गर्न थालेपछि थप क्षति नहोस् भन्नका लागि माटो पुर्ने काम गरिएको उनले बताए ।

नगरपालिकाले चासो राख्दै
हेल्थ पार्क निर्माण कार्य अघि नबढेकोमा नगरपालिकाले समेत चासो राखेको छ । २ महिनादेखि निर्माण समितिको बारेमा आफूले जानकारी लिइरहेको कार्यवाहक नगरप्रमुख मञ्जु भण्डारी सुवेदीले बताइन् । तर, निर्माण समितिका संयोजक थापा नेपालबाहिर रहेको भन्ने आफूले जानकारी पाएको उनले बताइन् ।

‘सम्झौता भएको टिमलाई २ महिनादेखि फलो गरिरहेको छु,’ कार्यवाहक नगरप्रमुख सुवेदीले भनिन्, ‘तर, प्रदीप थापाजीको खुट्टामा चोट लागेर ६ महिनादेखि बेड रेष्टमा हुनुहुन्छ भन्ने जानकारी पाएँ ।’

health park dharam (3)

सम्झौता भएअनुसार निर्माण समितिले काम शुरु नगरे नगरपालिकाले आफ्नै तरिकाले अगाडि बढाउने उनले बताइन् । अन्य सङ्घसंस्थाहरूले पनि हेल्थ पार्क बनाउनको लागि जग्गा मागिरहेकाले समितिले काम शुरु नगरे अरुसँग सहकार्य गरेर हेल्थ पार्क बनाउने उनको भनाइ थियो ।

‘निर्माण समितिसँग एक पटक हामी बुझ्छाँै, सम्झौता भएअनुसार कि काम शुरु गरिहाल्नु पर्याे,’ उनले भनिन्, ‘नबनाउने हो भने नगरपालिकाले आफ्नै तरिकाले काम अगाडि बढाउँछ । त्यो जग्गा त्यसरी खाली रहन दिँदैनाँै ।’ उता समितिका संयोजक थापा भने हङकङमा रहेकाले निर्माण समितिको बारेमा थप जानकारी लिन सकिएन ।

health park dharam (1) health park dharam (8) health park dharam (9)