इटहरीः सामाजिक सञ्जाल फेसबुकले आउने तीन वर्षमा आफूले प्रयोग गर्ने समाचारका लागि १ अर्ब डलर खर्च गर्ने बताएको छ ।

फेसबुकले उक्त रकम समाचार प्रयोग गरेबापत विभिन्न देशका मिडिया हाउसहरूलाई दिनेछ। फेसबुकले समाचार राखेबापत् पैसा तिर्नुपर्ने कानुन बनाउन लागेको अष्ट्रेलिया सरकारसँग सहमति गरेपछि फेसबुकले यस्तो निर्णय गरेको हो । फेसबुकले यसअघि नै फाइनान्सियल टाइम्स, द गार्डियनलगायतका मिडिया हाउसका समाचार प्रयोग गरेबापत् पैसा तिर्दै आएको छ । अष्ट्रेलियाको सिनेटमा विचाराधीन नयाँ कानुनमा फेसबुक र गुगललगायत संस्थाले कुनै समाचार आफ्नो प्लेटफर्ममा राखेबापत् मिडिया हाउसलाई पैसा दिनुपर्ने र विज्ञापनको आम्दानी पनि बाँड्नु पर्ने प्रावधान छ ।

पारित हुन लागेको विधेयकको उक्त प्रावधानको विरोधमा फेसबुकले समाचार सेयर गर्न नदिने गरी प्रतिबन्ध लगाएको थियो । फेसबुकसँग अष्ट्रेलिया सरकारले विधेयकको प्रावधान परिवर्तन गर्ने र फेसबुकलाई नेगोसियसन गर्न दुई महिनाको समय दिने सहमति गरेको छ। फेसबुकले बदलामा समाचार सेयरको सुविधा फेरि सुरू गरेको हो । फेसबुकजस्तै सर्च इन्जिन कम्पनी गुगलले पनि समाचार सामग्री प्रयोग गरेबापत् मिडिया हाउसलाई पैसा तिरिरहेको छ । -एजेन्सी