प्रकाशपुर । ’दाइ चिनीको दाम कति?’ इनरुवाका सिजन पोखरेल चिनी किन्न जाँदा मूल्य सुची हेरेरै बुझ्नु पर्ने सामान्य बिषयलाई पनि ब्यापारिलाई नै सोध्नु पर्ने आवश्यकता भयो । सबै व्यवसायिक सस्थाहरुले आफ्नो बेच्ने बस्तुको मुल्यसुचि राख्नु पर्ने कानुनि व्यवस्था छ। तर कानुनमा मुल्यसुची अनिवार्य राख्नु पर्ने व्यवस्था भए पनि सुनसरीका अधिकांश ठुला बजारका व्यवसायीहरुले मूल्य सुची राख्ने गरेका छैनन् ।
सुनसरीको मात्र हैन प्रदेश एक कै व्यापारिक हब मानिने इटहरीमा पनि मुल्यसुचि राख्ने व्यवसायी औलामा गन्न सक्ने मात्र छन् । इटहरी, धरान, बिराटनगर लगायतका बजारमा प्रशासनको सहज उपस्थिति भएको ठाउंमासमेत पसलहरुले अनिवार्य रुपमा राख्नु पर्ने मुल्य सुची राखेका छैनन् ।
चाडपर्वमा बजार अनुगमन गर्ने परिपाटि बाहेक पनि मूल्य सूचीलाई प्रशासनले त्यति महत्व दिने गरेको छैन । सुची नहुँदा ग्राहकलाइ जति भने पनि हुने र उपभोक्तासँग जति रकम असुल्न सकिने भएको इटहरीका उपभोक्ता तेजेन्द्र रार्इ बताउँछन ।
’यति दाम हो भन्छन, भिड पनि हुन्छ यो बेला जति भनो त्यति हालेर सामन ल्याउनु पर्छ’। रार्इकाे दुखेसाे छ ।
स्थानीय तह निर्माण संगै बजार अनुगमन तथा व्यवस्थापन गर्ने सम्पूर्ण जिम्मेवारी स्थानीय तहकै हो । स्थानीय सरकार संचालन ऐन २०७४ ले पनि प्रचलित कानुन र स्थानिय तह आँफैले बनाएको कानुन अनुसार बजार अनुगमन गर्न सकिने अधिकार दिएको छ।
तर अधिकांश स्थानीय तहले गर्ने अनुगमन नामको मात्र बन्दै गएको छ । तहहरुले अनुगमनको सिलसिलामा फेला परेका सामान्यतया म्याद गुज्रेका खाद्यबस्तुहरु नष्ट गर्ने र सचेत गराउने बाहेक कडाइका साथ कारवाहीमा लगेका उदाहरण एकदमै कम्ती पाइन्छ ।
बेला बखत चाडपर्वको समयमा हुने मौसमी बजार अनुगमनका क्रममा उपभोग्य बस्नुको मुल्य सूची अनिवार्य पसलमा टाँस गरेको हुनुपर्ने भन्दै व्यापारीलाई सचेत गराउने गरिएको भएपनि अधिकांश पसलमा मूल्य सूची राखेको पाइँदैन । उपभोक्ताहरुले आफूले किन्न चाहेको बस्तुको मुल्य सोधेपछि मात्रै व्यापारीले भन्ने गर्छन’ राइ भन्छन ’पसलमा जुन बस्तु किन्ने हो त्यसको मुल्य कति भने सोध्दा मात्रै दाम थाहा पाइन्छ’ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १९ मा अत्यावश्यक र अन्य वस्तुको अनिवार्य मूल्य सुची निर्धारण गर्नु पर्ने उल्लेख गरेको छ । ऐनमा भनिएको छ ’ (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समय समयमा अत्यावश्यक खाद्य तथा अन्य वस्तु वा सेवाको सूची निर्धारण गर्नेछ।(२) उपदफा (१) बमोजिमको सूचीमा अत्यावश्यक खाद्य तथा अन्य वस्तु वा सेवाको अधिकतम मूल्य समेत तोक्नु पर्नेछ। (३) बिक्रेताले उपदफा (१) बमोजिमको वस्तु वा सेवा बिक्री गर्दा उपदफा (२) बमोजिमको मूल्यभन्दा बढी हुने गरी बिक्री गर्न वा गराउनु हुँदैन।’