बेइजिङः चीनले सन् २०३५ भित्र देशभरिको रेलमार्ग २ लाख किलोमिटर पु¥याउने योजना सार्वजनिक गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी र चिनियाँ मन्त्रिपरिषद्ले बुधबार संयुक्त रूपमा सार्वजनिक गरेको सन् २०३५ सम्म अर्थतन्त्रलाई दोब्बर बनाउने खाकामा उक्त कुरा उल्लेख गरिएको छ । चीनमा अहिले हाइस्पिड रेल नेटवर्क ३८ हजार किलोमिटर छ। १५ वर्षमा त्यसलाई बढाएर ७० हजार किलोमिटर बनाइने छ। त्यस्तै अहिलेसम्म चीनमा सबैखालका रेल नेटवर्कको लम्बाइ १ लाख ४६ हजार किलोमिटर रहेकोमा त्यसलाई बढाएर २ लाख किलोमिटर बनाइने छ । रेलवेसँगै ४ लाख ६० हजार किलोमिटर सडक सञ्जाल र २५ हजार किलोमिटर इनल्याण्ड वाटरवे बनाउने योजना पनि चीनले सार्वजनिक गरेको छ ।

१५ वर्षमा चीनले थप १६२ वटा विमानस्थल बनाएर विमानस्थलको संख्या ४०० पु¥याउने लक्ष्य राखेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले गत नोभेम्बरमा सन् २०३५ सम्म चिनियाँ अर्थतन्त्र दोब्बर बनाउने कुरा पूर्ण रूपले सम्भव रहेको बताएका थिए । कोरोना भाइरसको महामारीपछि विश्वका अरू विकसित अर्थतन्त्रले लयमा फर्किन संघर्ष गरिरहेका बेला चिनियाँ अर्थतन्त्रमा भएको वृद्धिले उसको यो योजना सम्भव देखिएको अर्थशास्त्रीहरूले बताएका छन् । केहीले त सन् २०२८ मै चिनियाँ अर्थतन्त्रले अमेरिकालाई उछिनिसक्ने प्रक्षेपण गरेका छन् । अहिले अमेरिकाको अर्थतन्त्र २० ट्रिलियन डलरको छ भने चिनियाँ अर्थतन्त्र झन्डै १५ ट्रिलियन डलरको छ ।

अमेरिका र चीनबीच आर्थिक प्रतिष्पर्धा गहिरिँदै गएपछि वासिङ्टन र बेइजिङ दुबैको प्राथमिकता पूर्वाधारमा लगानी भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो महिनाको सुरूमा चीनले अमेरिकाको पूर्वाधारलाई पछि पार्न सक्ने भएकाले आफ्नो देशका महत्वपूर्ण पूर्वाधारहरूलाई अपग्रेड गर्नुपर्ने बताएका थिए । उनले चीनको उच्च गतिको रेल र नवीकरणीय उर्जाबाट चल्ने सवारीतर्फको विकासलाई इंगित गरेका थिए । चिनियाँ सरकारको ब्लुप्रिन्टमा पारवहन रणनीतिमा इनोभेसनको खोजी गरिने उल्लेख छ।

स्मार्ट र स्वचालित गाडीहरूको विकास गर्ने र चिनियाँ प्रविधिमा आधारित नेभिगेसन सिस्टम बेइडोउलाई अझ परिस्कृत गर्दै लैजाने उसको योजना छ । कोरोनाभाइरसको महामारीपछि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वलाई देशभित्रको आर्थिक क्रियाकलाप निकै नै महत्वपूर्ण हुने रैछ भन्ने लागेर यातायातलाई प्राथमिकतामा राखी यस्तो ब्लुप्रिन्ट ल्याइएको साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेको छ । अहिले चीनले अर्थतन्त्रको वृद्धिका लागि आन्तरिक उत्पादन र खपतमा जोड दिइरहेको छ । अब हरेक वर्ष चीनमा विभिन्न माध्यमबाट यात्रा गर्नेहरूको संख्या ३.२ प्रतिशत, सामानको ओसारपसार २ प्रतिशत र पोस्टल एक्प्रेस सर्भिस ६.३ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ ।

चिनियाँ अधिकारीहरूले ग्रामीण र सहरी क्षेत्र र विभिन्न सहरबीचको असमानताको खाडल पुर्नका लागि पनि यातायात प्रणालीलाई मजबुद् बनाउनु पर्नेमा जोड दिएका छन् । यसबाहेक चिनियाँ सरकारले संसारका जुनसुकै सहरमा पनि तीन दिनभित्रै सामान पु¥याउन सक्ने गरी एक्प्रेस सिपिङ नेटवर्क बनाउने पनि बताएको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ्समार्फत् सम्बन्धित मुलुकहरूमा लगानी गरेर राष्ट्रिय सुरक्षासँग जोडिएका पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यासलगायत सामग्रीको आयात सुनिश्चिता गर्ने पनि बेइजिङको योजना छ । ’अन्तर्राष्ट्रिय परिस्थिति निकै जटिल बनिरहेको छ,’ ब्लुप्रिन्टमा भनिएको छ,‘अस्थिरता र अनिश्चितता धेरै नै बढेको छ । संसार ठूलो परिवर्तनको चरणमा प्रवेश गरेको छ ।’ -एजेन्सी