इटहरीः विजयादशमी औपचारिक रूपमा सकिएको छ । विजयादशमी सकिए पनि योसँगै जोडिएर आएका चर्चा र परिचर्चाहरू भने सकिएका छैनन् ।
विजयादशमीका मिथक, इतिहास र प्रचलनबाहेक केही तस्बिर यो दशैँमा देशभर चर्चामा रहे । तिनै तस्बिरसँग जोडिएका विभिन्न क्रिया र प्रतिक्रियाहरूले दशैँमा सामाजिक सञ्जाल भरिभराउ भए ।
यी हुन् यो दशैंमा सर्वाधिक चर्चामा आएका ५ तस्बिरहरू
१. राष्ट्रपतिसँग घुँडा टेकेर टीका लगाएको तस्बिर
राष्ट्रपति विद्यादेवी भण्डारीलाई शपथ खुवाउने प्रधान न्यायाधीश थिए गोपालप्रसाद पराजुली । उनै पराजुलीले राष्ट्रपतिसँग घुँडा टेकेर टीका लगाएको तस्बिर भाइरल नै भयो । राष्ट्रपतिलाई राजाजस्तै भएको भन्ने आरोप पनि लाग्यो । आम सञ्चार र सामाजिक सञ्जालमा अझै पनि यो तस्बिरका पक्ष र विपक्षमा मत मतान्तरहरू जारी छन् । कसैलाई कुर्सीमा राखेर टीका लगाएको र कसैलाई भने घुँडा टेकाएको भन्दै राष्ट्रपति सचिवालयको आलोचना अझै हुँदै आएको छ ।
२. मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको टीका तस्बिर
साहित्यकार झमक घिमिरेका हात चल्दैनन् । उनी खुट्टाबाटै लेख्छिन् । यस पटकको दशैँ टीका पनि उनले खुट्टाले नै लगाइदिइन् । यो तस्बिर अहिले इन्टरनेटमा खुब चर्चामा छ । धेरैले साहित्यकार झमकको प्रशंसा गरेका छन् ।
३. बिरामीसँग टीका लाउने नर्सको तस्बिर
यस पटकको दशैँमा नेपाल क्यान्सर अस्पतालकी नर्स विनिता खतिवडाले पित्तथैलीका क्यान्सरपीडितसँग टीका लगाइन् । मोरङको रमाइलोकी खतिवडाले टीकाको दिन ११ बजे ड्युटीमा आउँदा आफन्तलाई टीका लगाइरहेका ८० वर्षका बिरामी गणेशबहादुर श्रेष्ठसँग टीका लाएको प्रदेश पोर्टललाई बताइन् ।
४. अनुहारभरि टीका लाएको तस्बिर
कुनै ठेगाना र व्याख्याबिना इन्टरनेटमा दशैंको एउटा तस्बिर भाइरल भएको छ । जहाँ विभिन्न उमेर समूहका व्यक्तिले निधारमा मात्रै होइन गालामा र चिउँडामा समेत टीका लगाएका छन् ।
५. कुकुरले टीका लाउन खोजेको तस्बिर
यसैगरी, टीकाको बारेमा भाइरल भएको अर्काे तस्बिरमा दशैको टीका लाउन खोजेकोजस्तो एउटा कुकुरको तस्बिर पनि छ । एक जना पाको उमेरका मान्छेसँग कुकुरले टीका लाउन खोजेझैँ देखिन्छ । सामान्यतया पूजा कोठामा कुकुर लानुहुन्न भन्ने मान्यता छ । तर, तस्बिरमा एउटा कुकुर पूजा कोठामा टीका लाउन उभिएको देखिन्छ । फोटोसप्ट गरिएको हो वा होइन भन्ने बारेमा वास्तविकता थाहा नभए पनि यो तस्बिर खुब चर्चामा रह्यो ।