इलामः जनताको मतबाट बनेका जनप्रतिनिधिहरूले सरकारी सवारी साधनको दुरुपयोग गर्न थालेका छन् ।
गत कात्तिक १ गते सूर्योदय नगरपालिकाका ३ जना वडाध्यक्षले सरकारी मोटरसाइकल दुरुपयोग गर्दै मलामी गएको पाइएको छ । सूर्योदय नगरपालिका–८ निवासी खिना भट्टराईको मलामी जानेमा भौतिक पूर्वाधार विकास समितिका संयोजक एवम् वडा नम्बर ३ का अध्यक्ष होम कार्कीले मे १ ब २८० नम्बरको सवारी साधन प्रयोग गरेका थिए ।
त्यस्तै, वडा नम्बर ८ का अध्यक्ष सुवासकुमार राईले मे १ ब ६०१ र प्रवक्ता तथा वडा नम्बर १० का अध्यक्ष पेमा उर्गेन लामाले मे १ ब ६०६ नम्बरको मोटरसाइकल प्रयोग गरेका थिए ।
सञ्चारकर्मीलाई धम्की
जनप्रतिनिधिले सरकारी सवारी साधनको दुरुपयोग गरेको विषयमा सञ्चारकर्मीले समाचार लेख्दा जनप्रतिनिधिले धम्की दिने गरेका छन् ।
गत कात्तिक ४ गते नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष एवम सन्देश साप्ताहिक र लोकल सन्देश अनलाइनका प्रधान सम्पादक सुजन तिम्सिनालाई वडा नम्बर ३ का अध्यक्ष कार्कीले ९८५२६८००६७ नम्बरको मोबाइलबाट फोन गरी ‘तपार्इं सूर्याेदय नगरवासी होइन ? म पनि यस नगरको बासिन्दा हुँ । त्यसैले राम्रो समाचार लेख्नू । तपाईंको क्यामरा मेरो मोटरसाइकलतिर नफर्काउनू, नत्र राम्रो हुँदैन’ भनेका थिए । भोलिका दिनमा जेसुकै हुन सक्ने भन्दै उनले धम्की दिएका थिए ।
वडाध्यक्षको कदमको तीव्र विरोध
वडाध्यक्षको कदमको विरोध गर्दै नेपाल पत्रकार महासङ्घ प्रदेश नं एक, जिल्ला शाखा इलाम र स्थानीय सन्देश साप्ताहिकले विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन् । नेपाल पत्रकार महासङ्घ प्रदेश नम्बर १ का महासचिव विवेक गौतमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा प्रकाशित समाचारमा चित्त नबुझे कानुनी उपचारको बाटो हुँदाहुँदै जनप्रतिनिधिबाट पत्रकारलाई धम्क्याउनु खेदजनक रहेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा जिम्मेवार पदमा रहेका व्यक्तिले आफ्नो आलोचना र कमजोरी सार्वजनिक हुनेबित्तिकै मिडियामाथि जाइलाग्ने अवस्था अन्त्य गर्न र दोषीमाथि कारबाही गर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराइएको छ ।
मासिक तलब भत्ता लिँदै आएका वडाध्यक्षहरूले सरकारी मोटरसाइकलमा प्रयोग हुने पेट्रोलियम पदार्थ र मर्मत खर्च नगरपालिकाबाटै लिँदै आएका छन् । जनप्रतिनिधिले आफ्नो व्यक्तिगत काममा र बिदाको दिनमा पनि सरकारी सवारी साधन आफूखुशी प्रयोग गर्ने गरेका छन् ।
दुरुपयोग गर्नेमा नगरप्रमुख पनि
सूर्योदय नगरपालिकाका प्रमुखले समेत सवारी साधनको दुरुपयोग गर्ने गरेका छन् । गत साउन १ गते नगरप्रमुख रणबहादुर राईले सवारी साधनको दुरुपयोग गरेको पाइएको थियो । सूर्योदय नगरपालिका–२ पशुपतिनगरमा रहेको एक होटल अगाडि मे १ झ १५१ नम्बरको सेतो नम्बर प्लेटको सवारी साधन रोकेर तत्कालीन स्वकीय सचिवसहित राईले मादक पदार्थ सेवन गरेको पाइएको थियो । स्थानीय बासिन्दाका अनुसार नगरप्रमुखले कहिलेकाहीँ यसरी नै राती सरकारी सवारी साधन प्रयोग गर्ने गरेका छन् ।
त्यसैगरी, साउन २६ गते शनिबार देउमाइ नगरपालिकाको मे १ झ १३० नम्बरको सवारी साधन कार्यालयको काम बिना नै झापाको दमक पु¥याएर फर्काइएको थियो ।
सो सवारी साधनमा कार्यालयका कर्मचारीका साथै केही जनप्रतिनिधि पनि रहेको पाइएको थियो । कार्यालयका एक कर्मचारीको ससुराली घरमा भएको मरिमराउमा मानो चामल लिएर जान कर्मचारीले सो गाडी प्रयोग गरेका थिए ।
शनिबार यसरी मृतकका परिवार भेट्न जाँदा कार्यालयको सवारीमा नअटाएका जनप्रतिनिधि र कर्मचारीले अर्काे एउटा निजी जीपसमेत रिजर्भ गरेर गएका थिए । कामका सिलसिलामा कार्यालयबाट सवारी साधन लिएर हिँड्ने प्रावधान भए पनि काम सकेर सो सवारी साधन पुनः कार्यालयमै बुझाउनुपर्ने व्यवस्था जनप्रतिनिधिहरूले लत्याउँदै आएका छन् ।