बेलबारी: बेलबारी–८ का किसान कमल गौतमलाई दशैंमा टीका लगाउनका लागि फुर्सदसम्म पनि भएन । एकातिर खेतमा धान थन्क्याउने चटारो थियो भने अर्कोतिर बारीमा लगाएको रायो सागलगायतको तरकारीमा पानी लगाउने र ती तरकारी टिप्ने चटारो थियो ।

रायोको साग २÷३ दिनमा टिप्नुपर्ने तथा गोडमेल गर्ने र पानी लगाउनुपर्ने हुनाले उनी कृषिमै व्यस्त भएका हुन् । जसका कारण उनले रमाएर दशैं मनाउन पाएनन् । मान्यजनहरूसँग टीका लगाउन जाँदासमेत साग किन्ने व्यापारी घरमा आए कि भन्ने चिन्ता हुने गरेको गौतम बताउँछन् । प्रतिकठ्ठा ६० हजार रुपैयाँसम्म आम्दानी गरेको उनी बताउँछन् । उनले गतवर्ष प्रतिकठ्ठा १० हजार देखि १५ हजार रुपैयाँसम्म कमाउने गरे पनि अहिले टनेलमा खेती गर्दा आम्दानी राम्रो भएको गौतमको भनाइ रहेको छ ।

यस्तै, बेलबारी–८ कै किसान मेघनाथ बिष्टको व्यस्तता पनि गौतमकै जस्तो छ । उनको बारीमा साग गोडमेल गर्ने र टिप्ने चटारो अहिलेसम्म पनि रहिरहेको छ । रायोको सागसँगै अन्य तरकारी खेतीमा उनी सधैँ व्यस्त रहने गरेका छन् । तिते करेला, टमाटर, काउली, बन्दालगायतको खेती गर्ने गरकोे उनी बताउँछन् ।

यसै वर्षदेखि टनेलमा खेती गर्न थालेको बिष्टले बताए । बिष्टका अनुसार टनेल खेतीमा साग राम्रो नभए पनि करेला भने राम्रो फलेको छ । उत्पादित तरकारी बिक्री नहुने हो कि भन्ने डर लाग्ने गरेकाले धेरै खेती गर्न नसकिएको उनले बताए । एक कठ्ठामा लगाएको सागले ६० हजारसम्म आम्दानी गरेको उनले बताए ।

सिजनमा ७० रुपैयाँ प्रतिकिलो रायोको साग बेच्दै आएका बिष्टले अहिले भने ३० रुपैयाँमा बेच्दै आएका छन् । शुरु सिजनमा राम्रो भाउ पाउने गरे पनि असोजदेखि सबैतिर साग निस्कने गरेकाले भाउ घट्ने गरेको किसानहरूको भनाइ रहेको छ ।
बेलबारी–८ कै रमेश बस्नेत पनि दिनरात नभनी तरकारी खेतीमा लाग्ने गरेका छन् । उनले पनि आफ्नो परिवारको खर्चसमेत सो खेतीबाटै निकालेर थप आय बचतसमेत गर्ने गरेका छन् ।

वडाका अधिकांश साग खेतीमा
बेलबारी–८ का अधिकांश किसानका घरमा रायोको साग पाइन्छ । त्यहाँ साग किन्नका लागि इटहरी, बेलबारी, विराटचोक, विराटनगरलगायतका स्थानबाट व्यापारी जाने गर्छन् ।

बेलबारी नगरपालिकाले टनेल निर्माण गरिदिएपछि अहिले किसानलाई राहत मिलेको छ । किसानलाई थप व्यावसायिक बनाउन गत वर्ष ८ नम्बर वडामा मात्रै ५६ वटा टनेल निर्माण गरेको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । ८ नम्बर वडाका अधिकांश किसान साग खेतीमा आकर्षित हुने गरेका छन् । उनीहरूलाई नगरपालिकाले ७ लाख ३५ हजार बराबरको टनेल बनाइदिएको थियो ।