इटहरीः व्हील चेयरमा बसेर नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको एक हजार एक सय ५२ किलोमिटर यात्रा गर्ने उद्देश्यका साथ निस्किएका सिन्धुपाल्चोकका रामबहादुर तामाङ इटहरी आइपुगेका छन् ।

विशेष गरी व्हील चेयरमा बसेर आफ्नो जीवन चलाउनेहरु प्रायः घरभित्र बस्ने गरेका बताउँदै उनले त्यो परिस्थितिलाई कम गर्ने र विश्व रेकर्डमा आफ्नो नाम लेखाउने उद्देश्यका साथ यात्रा सुरु गरेको जानकारी दिएका छन् । यसभन्दा पहिला पनि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि व्हील चेयरमा यात्रा गरका उनले अहिले भने पूर्व–पश्चिमको यात्रा तय गर्ने उद्देश्य लिएका हुन् ।

यसका साथै शारीरिक रुपमा अपाङ्गता भएकाहरुले पनि चाहमा जेपनि गर्न सक्छन् भन्ने कुरा पुष्टि गर्ने ध्येयले यात्रा तय गरेको उनले जानकारी दिएका छन् । सुनसरीको इटहरीमा आइपुगेका उनलाई इटहरीमा रहेको करुण फाउन्डेसन र उनीजस्तै शारीरिक रुपमा आपाङ्गता भएर व्हील चेयरमा जीवन बिताइरहेका व्यक्तिहरुले स्वागत गरेका छन् ।