इटहरीः मेसिनहरुको प्रयोग नेपालमा बढ्दो छ । स–साना घरायसी कामदेखि ठूलाठूला कलकारखाना र सरकारी तथा निजी क्षेत्रमा पनि यसको प्रयोग बढ्दो छ ।
पछिल्लो समय कोरोना महामारीले रोजगारी गुमाउनेको संख्या बढिरहेको छ । तर, इट्टा उद्योग सञ्चालक भने यसलाई मान्न तयार छैनन् । इट्टा उद्योगमा काम गर्ने मानिसको अभाव हुँदै गएकाले विकल्पको रुपमा मेसिनरी सामानको प्रयोग बढाउँदै जानुपर्ने बाध्यता आएको उद्योगीहरु बताउँछन् । पहिले, माटो मुछ्नदेखि लिएर पाउनसम्म नै अधिक क्षेत्रमा मानिसको नै प्रयोग हुने गरेको थियो । मानिसले नै खनेर तयार परेका माटोलाई मानिसद्वारा नै साँचोमा हालेर इट्टाको आकार दिने काम हुन्थ्यो । ती काममा सहायकका रुपमा मात्र मेसिनरी सामानहरु स्काभेटर, ट्याक्टर तथा ठेलाको प्रयोग हुने गरेको थियो । पहिले सहायकका रुपमा मात्र प्रयोग हुने मेसिनरी सामानहरु अहिले प्राथमिकताका साथ प्रयोग गर्नुपर्ने बाध्यता भएको नेपाल इट्टा उद्योग व्यवसायी महासंघका सह–सचिव तथा झापाका इट्टा उद्योगी जगतनाथ खनालले जानकारी दिए ।
‘कोरोना महामारीले अरु क्षेत्रजस्तै इट्टा उद्योगलाई पनि प्रभाव परेको थियो । यसले गर्दा हाम्रा उद्योगहरु पनि बन्द हुन पुगे । जसले गर्दा हामीले बैंकको व्याज पनि तिर्न सकेनौँ । उद्योगमा काम नभएपछि यहाँका मजदुरहरु पनि विस्थापित भए । वर्षौँदेखि हामीकहाँ काम गर्ने मजदुरहरु अन्य उद्योगमा काम गर्न जानुभयो’, उनले भने । उनले त्यो समयमा काम छोडेर गएका मजदुरहरु फर्केर नआएकाले विकल्पको रुपमा मेसिनहरु जडान गरेको जानकारी दिए । ‘हामीबाट पलायन हुनुभएका मजदुरहरु फर्केर नआएपछि हामीले मेसिनलाई विकल्पको रुपमा रोज्यौँ । मैले इट्टा बनाउने मेसिन पूर्वमा नै पहिलो पटक ल्याएको थिएँ । त्यसपछि साथीहरुले पनि त्यो मेसिन ल्याउनुभएको छ’, उनले भने । उनीजस्तै पूर्वका धरै व्यवसायीले मजदुरहरुको विकल्प हुन सक्ने भन्दै झण्डै ७८ लाख भारु पर्ने मेसिन ल्याएका हुन् । ‘अहिले मजदुर नभएको अवस्थामा पनि यो मेसिनले पनि काम चलाउन सकिन्छ भन्ने आशाका साथ यसको सुरुवात हामीले गरेका छौँ । प्रविधि ल्याउँदा केही समस्या हुन्छन्, तर मजदुर नपाएको अवस्थामा यो पनि विकल्प हो र यसलाई हामीले सामना गरिरहेका छौँ’, उद्योगी खनालले भने ।
इट्टा विकासको लागि अपरिहार्य छ । घर बनाउँदादेखि विकासका अन्य काममा पनि इट्टा अनिवार्य छ । पहाडी ताथ ग्रामीण भेगमा कच्चा इट््टाको प्रयोगबाट घर बनेका हुन्छन् । तर, सुगम तथा तराई भू–भागमा भने पक्की इट्टाको प्रयोग हुने गरेको छ । अहिले कोरोना महामारीका कारण मजदुरको अभावले बजारको माग अनुसार इट्टा उत्पादन गर्न नसकेको खनाल बताउँछन् । ‘विकासको काममा पनि इट्टा नभई नहुने भएकोले मेसिनको प्रयोग गरेरै भएपनि उत्पादनमा हामी लागेका छौँ । हामीले कोरोना महामारीअगाडि उत्पादन गरेर स्टोर गरेर राखेका इट्टा पनि सकिएका छन् । त्यसैले मजदुरको रोजिरोटी पनि नसकिनेगरी हामीले मेसिनको प्रयोग गरिरहेका छौँ’, उनले भने । मेसिनको प्रयोग हुँदै गर्दा पनि मानव संसाधनको आवश्यकता बढ्दै गएको खनाल बताउँछन् । ‘मेसिनले गर्ने काम त गर्छ । त्यसपछि रहेको काम गर्न हामीलाई मानिस नै चाहिन्छ । त्यसको लागि पनि मजदुरको ठूलो अभाव भइरहेको छ’, उनले बताए । उनका अनुसार अहिले इट्टा बनाउने मेसिन पूर्वमा भित्रिएको छ । तर, त्यसले इट्टा मात्र बनाउने भएकाले त्यसलाई सुकाउन र इट्टा भट्टासम्म पुर्याउने मजदुरको ठूलो अभाव रहेको खनालको भनाइ छ ।