धरानः धरानमा लगाइएको ‘सस्तो बजार तथा सुलभ सांस्कृतिक मेला’को लागि जिल्ला सुरक्षा समितिले सुरक्षा दिन नसक्ने निर्णय गरेको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय इनरुवामा बसेको सुरक्षा समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । चाडबाडको समयमा सबैतिर सुरक्षा सतर्कता अपनाउनुपर्ने हुनाले मेलाको लागि मात्र सुरक्षा व्यवस्था गर्न नसकिने निर्णय गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए ।
‘चाडबाडको समयमा हामीसँग भएको सुरक्षा फौज सबैतिर पु¥याउनुपर्छ । मेलाको लागि मात्र भनेर चुँडाएर दिन नसक्ने भनेका हाँै,’ उनले भने, ‘विगतका घटनालाई पनि मध्यनजर गरेर मेलामा सुरक्षा दिन नसक्ने निर्णय गरिएको उनले स्पष्ट पारे । धरान उपमहानगपालिकालाई इलाका प्रशासन कार्यालयमार्फत् जानकारी समेत गराइएको उनले बताए । मेलाको सुरक्षाको माग गर्दै धरान उपमहानगरपालिकाले बिहीबार जिल्ला सुरक्षा समितिलाई पत्राचार गरेको थियो ।
यता, धरान उपमहानगरपालिकाका प्रवक्ता मणिराम राईले सुरक्षा समितिको निर्णय आफूले २ बजेतिर थाहा पाएको बताए । शुक्रबार साँझ ७ बजे गरेको फोन सम्पर्कमा हालसम्म उपमहानगरले कुनै ठोस धारणा बनाइनसकेको उनले बताए ।
‘सुरक्षा निकायको निर्णय मैले पनि २ बजेतिर थाहा पाएको हो,’ उनले भने, ‘यसमा नगरपालिकाले औपचारिक धारणा बनाइसकेको छैन । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कार्यवाहक मेयरज्यूले भन्छु भन्नुभएको छ, त्यसैको पर्खाइमा छु ।’ स्थानीय सरकारको निर्णयमा सुरक्षा निकायले त्यस्तो निर्णय त गर्दैन भन्ने आफूहरूलाई लागेको उनले बताए । तर, असहयोग गरेको भन्ने अवस्था पनि नरहेको उनको भनाइ थियो ।
गत असोज २५ गते धरान नगर कार्यपालिकाको बैठकले धरान–१२ को छिमेकी युवा समूहलाई सस्तो बजार तथा सुलभ सांस्कतिक मेला र धरान–६ स्थित सयपत्री ब्वाइज युनियनलाई ‘पानबारी महोत्सव २०७५’ मेला लगाउन स्वीकृति दिएको थियो । सोही अनुसार चर्को विरोधका बीचमा गत सोमबारदेखि छिमेकी युवा समूहले मेला लगाउन शुरु गरेको थियो । भोलिपल्ट मङ्गलबार मेलाको पक्ष र विपक्षका युवाबीच झडप भएको थियो । झडपका क्रममा विपक्षका दुई युवा घाइते भएका थिए । स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले ५ सेल अश्रुग्यास समेत हानेको थियो ।
त्यसलगत्तै प्रजिअ उप्रेतीको निर्देशनमा मेला बन्द गराइएको थियो । मेलास्थल अहिले प्रहरीको कब्जामा रहेको छ । नेपाली काङ्ग्रेस, सङ्घीय लिम्बुवान मञ्च नेपाल, सङ्घीय समाजबादी फोरम, मङ्गोल नेशनल अर्गनाइजेशन, खम्बुवान राष्ट्रिय साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीलगायतका दलले मेलाको चर्को विरोध गरिरहेका छन् ।