इटहरीः नेपालको कुल जनसंख्याको ८० प्रतिशत मानिसको पेसा कृषि हो । नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी छ ।
तर, विदेशबाट आयात हुने कृषिजन्य सामग्रीको मात्रा हेर्दा लजास्पद तितो यर्थात् हामीसामु आउँछ । हामीले खाने नुनदेखि सुनसम्मका लागि विदेशमा भर पर्छौँ । पछिल्लो समय वैदेशिक रोजगारीको बढ्दो आर्कषणले नेपालमा कृषि कर्म गर्नेको जनसंख्यामा भारि गिरावट आइरहेको छ । परिवारको एक सदस्य विदेश गएमा गाउँबाट शहर तथा पहाड र हिमालबाट तराईका सुगम क्षेत्रमा बसाइ सरी आउनेको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ । यसले एकातिर पहाडका जग्गाहरु बाँझो हुने र अर्कोतर्फ तराईका उर्वर भूमिहरु भौतिक संरचनाले भरिभराउ हुने अवस्था सिर्जना भइरेको छ । यस्तै अन्य केही काम गर्न नसके मात्र कृषि गर्ने भन्ने प्रवृत्तिकै कारण पनि कृषि क्षेत्रमा आकर्षण कम हुँदै गएको छ । अर्कोतर्फ उर्वर भूमिको कमी र सरकारी क्षेत्रबाट हुने अनुदानको अभावका कारण पनि कृषि कर्म गर्नेको संख्या दिनानुदिन घट्दै छ ।
व्यक्तिगत जग्गा बाँझो हुने मात्र होइन, सरकारी तथा सार्वजनिक क्षेत्रका जग्गा पनि बाँझो भएर यत्तिकै खेर गइरहेका छन् । अब यस्ता जग्गा भने उपयोगमा आउने भएका छन् । यस्तै जग्गाहरुलाई उर्वर बनाएर नेपालमा कृषि क्रान्ति गर्ने उद्देश्यका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेडको स्थापना भएको छ । लामो समयदेखि कृषि क्षेत्रमा काम गर्दै आएका कृषक तथा कृषि विशेषज्ञहरुको दुई अर्ब लगानीमा यो बैंक स्थापना भएको हो । ‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ स्थापना भएको यो बैंक देशका ७७ वटै जिल्ला र र ७ प्रदेशमा उपस्थिति जनाउँदै कृषि उत्पादन र बजारीकरणमा समर्पित हुने बैंकका अध्यक्ष शंकरनाथ उप्रेतिले जानकारी दिए । उनका अनुसार नेपालका नीजि तथा सार्वजनिक खाली रहेका जग्गाहरु भाडामा लिएर यस बैंकले काम गर्नेछ ।
‘यो बैंकले सरकारी खाली जग्गाहरु, सामुदायिक वनका खाली जग्गाहरु, गुठीका जग्गाहरु, व्यक्तिका जग्गाहरु लिजमा लिएर उत्पादन कार्य अघि बढाउनेछ । यो बैंकले प्रदेश १ का सुनसरी, मोरङ, झापा र उदयपुरसहित देशभरका १५ वटा जिल्लामा जग्गा लिजमा लिने र उत्पादन सुरु गर्ने कार्य अघि बढाइसकेको छ’, उनले भने । यो बैंकले कृषकलाई उत्पादन कार्यमा आर्थिक सहयोगका साथै आवश्यक मल, बिउ साथै प्रविधिक ज्ञान पनि उपलब्ध गराउने अध्यक्ष उप्रेतिको भनाइ छ । ‘कृषि क्षेत्रमा ठूलो लगानी, रोजगारी बढाएर उत्पादन वृद्धि गर्ने, कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, क्रमश अर्गानिक उत्पादनलाई जोड दिने, कृषि क्षेत्रमा आवश्यक ज्ञान, सीप, बिउबिजन, मलजलको समुचित व्यवस्थापन गर्नेगरी दक्ष जनशक्ति, विशेषज्ञ वैज्ञानिक लगायतको सहभागितामा यो बैंक अगाडि बढेको छ’, अध्यक्ष उप्रेतिले भने ।
हाल यो बैंकले बर्दिया जिल्लाको गुलरिया नगरपालिका ३ खैरीलगायत बर्दिया जिल्लाका विभिन्न ठाउँमा दुई सय बिघा जग्ग भाडामा लगाइसकेको अध्यक्ष उप्रेतिले जानकारी दिए । यसले पहिलो चरणमा अन्नबाली उत्पादनमा जोड दिने उनको भनाइ छ । ‘पहिलो चरणमा धान, गहुँ, कोदो, मकै, आलु, तोरी र गेडागुडी लगायतका उत्पादनलाई बैंकले प्राथमिकता दिएको छ । दोश्रो चरणमा माछा–मासु, फलफुल, दुध र तरकारी उत्पादनमा बैंकले जोड दिनेछ । साथै पाइलट प्रोजेक्टको रुपमा हरेका जिल्ला र प्रदेशलाई कृषि उत्पादनको पकेट क्षेत्रको रुपमा विकसित गर्दै किसानलाई नै अधिकतम कृषि उत्पादनमा सरिक गराउन यो बैंकले सहकार्य गर्नेछ’, उनले भने । अध्यक्ष उप्रेतिले यसै वर्ष स्थापना भएको यो बैंकले काठमाडौँमा आगामी वर्षको वैशाख १ गते केन्द्रीय कार्यालयको उद्घाटन गर्ने जानकारी दिए । यसका साथै ७ प्रदेशमा क्षेत्रीय कार्यालय स्थापना गर्ने उपे्रतिको भनाइ छ । प्रदेश १ को कार्यालय भने सुनसरीको इटहरीमा स्थापना गर्ने पनि उनले जानकारी दिए ।