इटहरीः प्रदेश १ भरका विद्युत प्राविधिकहरुले सरकारसँग पेसागत सुरक्षाको माग गरेका छन् ।

विद्युत् प्राविधिकहरुले पेसागत धर्म निर्वाह गरेकै कारणले सजायको भागिदार बन्नु परेको भन्दै उनीहरुले कानूनी प्रावधानलाई विद्युत् प्राविधिकमैत्री बनाएर प्राविधिकलाई उचित संरक्षण दिनुपर्ने माग गरेका हुन् । मोबाइल लक भएको समस्या लिई आउने सेवाग्राहीको समस्या समाधान गरिदिनु आफ्नो धर्म भएपनि चोरीको मोबाइल अनलक गरेको अभियोगमा आफूहरुलाई पक्राउ गरिँदा त्रास उत्पन्न भएको उनीहरुको भनाइ छ । यसैगरी, प्राविधिकहरुलाई जोखिमपूर्ण काममा लाग्दा हुनसक्ने क्षतिको आँकलन गरी बीमाको सुविधा उपलब्ध गराउनुपर्ने पनि प्राविधिकहरुको माग रहेको छ । प्राविधिकहरुलाई समयसापेक्ष विकास हुने नयाँ प्रविधिबारे जानकार र दक्ष बनाउन आवश्यक तालिमको प्रबन्ध गर्न पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

vidhyut pravidhik2

 

प्राविधिकहरुमा ज्ञानको कमीका कारण काम गर्दा त्रुटि हुन गई सुधार हुनुपर्ने उपकरणको अवस्थामा थप समस्या उत्पन्न भई कामै नलाग्ने अवस्थामा पुगिरहेको र यसले विद्युतीय उपकरणको आयात बढ्न गई देशको आर्थिक स्रोत विदेशतिर जाने अवस्थाको निराकरणका लागि सरकारले प्राविधिकलाई सक्षम बनाउनुपर्ने उनीहरुको माग छ । सीप भएर पनि प्रमाणपत्रको अभावमा दक्षता अनुसारको काम गर्न नपाइने अवस्था रहेको बताउँदै विद्युत् प्राविधिकहरुले सरकारले विद्युत् प्राविधिकसँग भएका सीप र अनुभवका आधारमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत् तहगत रुपमा प्रमाणपत्र वितरण गरिनुपर्ने सुझावसमेत सरकारलाई दिएका छन् ।

नयाँ कार्यसमिति चयन
सुनसरीको इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा गत फागुन २९ गते सम्पन्न प्रदेश १ का तीन सय ५० भन्दा बढी विद्युत् प्राविधिकहरुको भेलाले प्रदेश १ स्तरीय नेपाल विद्युत् प्राविधिक समूहको प्रथम अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले यज्ञराज दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिका अन्य पदाधिकारीहरुमा विमलेश कर्ण उपाध्यक्ष, रवि सुवेदी सचिव, नवजीवन अधिकारी सहसचिव र भोला शर्मा कोषाध्यक्षमा चयन भएका छन् । यसैगरी, समितिका सदस्यहरुमा केदार भण्डारी, वीरबहादुर लामा, नविन पौडेल, धनमाया पौडेल, नोमेश राजवंशी र दीपा भुजेल रहेका छन् ।

vidhyut pravidhik5

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र प्रदेश १ का कार्यकारी निर्देशक धर्मेन्द्र धमलाको प्र्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा सीटीइभीटी प्रदेश १ का निर्देशक शिव दाहाल तथा समृद्धि प्रोजेक्टका व्यवस्थापक शालिकराम दाहाल विशिष्ट अतिथि रहेका थिए । समितिका अध्यक्ष दाहालले प्रदेशभरका विद्युत् प्राविधिकहरुलाई एकजुट गराई हकअधिकारका लागि सरकारलाई दबाब दिने उद्देश्यले समूह गठन गरिएको जानकारी दिए । उनका अनुसार समूहको प्रथम अधिवेशनले यस क्षेत्रका विद्युत् प्राविधिकहरुलाई महासंघमा आबद्ध गर्ने, उनीहरुका लागि आवश्यक तालिम सञ्चालनका लागि पहल गर्ने, बीमा गराउनका लागि पहल गर्ने र क्यालेण्डर प्रकाशन गर्ने निर्णय गरेको छ ।

vidhyut pravidhik6 vidhyut pravidhik7