झापाः झापाको मेचीनगर नगरपालिकामा सञ्चालित चिया बगानमा कार्यरत मजदुरको क्वाटरमा व्यवस्थित शौचालय छैन । जसका कारण खुला दिसामुक्त नगरपालिका घोषणा गर्न समस्या भएको नगरपालिकाले जनाएको छ ।
जनसङ्ख्या तथा क्षेत्रफलका आधारमा झापाका १५ वटा स्थानीय तहमध्ये मेचीनगर सबैभन्दा ठूलो छ । नगरपालिकाका १५ वटा वडामध्ये ७ वटा वडा खुला दिसामुक्त घोषणा हुन बाँकी रहेको उपप्रमुख मीना पोखरेल उप्रेतीले बताइन् । चिया बगानमा व्यवस्थित शौचालय नहुँदा खुला दिसामुक्त नगर घोषणा गर्न अप्ठ्यारो भएको उनी बताउँछिन् ।
उनका अनुसार नगरका १, ३, ४, ११, १२, १३, १४ र १५ नम्बर खुला दिसामुक्त वडा घोषणा भइसकेका छन् । वडा नम्बर २ लाई खुला दिसामुक्त घोषणाको तयारी भएको उनको भनाइ छ ।
मेचीनगर नगरपालिकालाई खुला दिसामुक्त नगर घोषणा गर्नका लागि जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापा, साहारा नेपाल, विराट सामुदायिक अध्ययन केन्द्रलगायतका गैर सरकारी संस्था समेत जुटेका छन् ।
नगरपालिकाको वडा नम्बर ५, ७ र ८ को क्षेत्रमा धेरै चिया बगान रहेका छन् । टोकला तथा सतिघट्टालगायतका चिया कमान यस नगरभित्र रहेका छन् । त्यहाँ काम गर्र्ने सयाँै मजदुर बगानको क्वाटरमा बस्ने भए पनि व्यवस्थित शौचालय भने नभएको बताइएको छ ।
‘हामीले टोकला बगान व्यवस्थापन पक्षसँग मजदुरलाई शौचालय बनाइदिन पटकपटक आग्रह गरेका छौँ’, वडा नम्बर ८ का वडाध्यक्ष विकेन्द्र धिमालले भने, ‘तर बगान व्यवस्थापनले चासो दिएको छैन ।’
शौचालय नबनाउने नगरवासीलाई नगरपालिकाले दिने सवै प्रकारका सेवा सुविधाबाट बञ्चित गर्ने उद्घोष गरेअनुसार बगानले पाउने सेवा समेत रोकेको नगरपालिकाले जनाएको छ । गत जेठ मसान्तभित्र प्रत्येकलाई घर घरमा शौचालय बनाउन नगरपालिकाले उर्दी गरेको थियो ।
कात्तिक मसान्तभित्र वा मंसिरको पहिलो सातासम्म नगरपालिकालाई खुला दिसामुक्त नगरपालिका घोषणा गर्ने योजना रहेको उपप्रमुख उप्रेतीले बताइन् । सम्बन्धित वडाका वडाध्यक्षहरूको परामर्शमा शौचालय बनाउन नसक्ने र आर्थिक रूपमा कमजोर भएकालाई नगरपालिकाले आर्थिक सहयोग गरेको बताइएको छ ।