बेलबारीः बेलबारी–७ का लीलाप्रसाद चौधरी २१ वर्षको हुँदा हर्निया रोगका कारण थला परे । केही छिमेकीले खराउ (काठको चप्पल) लगाउन उनलाई सुझाव दिए ।
त्यसपछि २२ वर्षको उमेरदेखि अहिलेसम्म उनी खराउ लगाइरहेका छन् । चौधरी अहिले ६७ वर्षका भए । खराउ लगाएपछि अहिलेसम्म कुनै रोग नलागेको उनी बताउँछन् ।
‘सुगर, प्रेसर, हाईड्रोसिलजस्ता रोगको खराउ चप्पलले धुलो काढ्दो रहेछ’, चौधरीले भने, ‘अहिले सबै बजारकै भर पर्छन् । अनि ४० बर्ष नपुग्दै विभिन्न रोगले भेट्छ । रोग लागे घरायसी औषधि र खेतबारीको जडीबुटी खाँदा नै रोग निको हुन्थ्यो ।’
अहिलेको खानेकुरामा पनि विषादीको प्रयोग हुने अनि श्रम नगर्ने बानीका कारण रोग लागेको उनको अनुमान छ । चौधरीले आफूले २२ वर्षको उमेरदेखि नै काठको खराउ लगाएका कारण हर्नियाको उपचार नै नगरी ठीक भएको उनले सुनाए । आफूले नीम जातको काठको खराउ लगाउने गरेकोे उनले सुनाए । एक जोर चप्पल ९ महिना टिक्ने पनि उनले सुनाए ।
खराउ लगाएरै सबैतिर आफू जाने गरेको चौधरीले सुनाए । जनता उच्च माध्यमिक विद्यालयमा लेखापालको काम गरेका उनी मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा जाँदा आफ्ना खराउ हेरेर विभिन्न प्रश्न सोध्ने गरेको बताउँछन् । कतिले चाहिँ आफूलाई हाँसोको पात्र नै बनाउने गरेको उनको अनुभव छ ।
सधैं खराउ लगाउने उनी जाडो यामका २ महिना भने खराउ लगाउँदैनन् । धेरै जाडो हुने समयमा जुत्ता लगाउने गरेको र जुत्ता लगाउँदा खुट्टामात्रै नभई पूरै शरीर नै दुख्ने गरेको उनी सुनाउँछन् ।