इटहरीः प्रधानमन्त्री केपी शर्मा ओली निम अवार्डबाट सम्मानित भएका छन् । उत्कृष्ट गीतकारका रुपमा सम्मानस्वरुप उनलाई यो अवार्ड प्रदान गरिएको हो ।

स्वदेशमै रोजगारी बोलको गीत रचना गरेबापत प्रधानमन्त्री ओलीले सो अवार्ड प्राप्त गरेका हुन् । मनोज भेटवाल, विश्वदीप घिमिरे र निर्देशक मोहन निरौलाले संयुक्त रुपमा सो अवार्ड प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री ओलीलाई उनको सरकारी निवास बालुवाटारमै अवार्ड प्रदान गरिएको हो । किरण क्रियसनद्वारा प्रस्तुत उक्त गीतको संयोजन युवा नेता रमेश पौडेलले गरेका हुन् भने मेलिना राई र शान्तिराम राईको स्वर शान्तिराम राईकै संगीतमा यो गीत बजारमा आएको हो । गीतलाई मोहन निरौलाले निर्देशन गरेका छन् भने पवित्रा आचार्यको नृत्य निर्देशन रहेको छ ।

प्रद्युम्न मिश्र र नारायणदत्त उपाध्यायद्वारा छायांकन गरिएको सो गीतलाई विनोद बमले सम्पादन गरेका हुन् । गीतमा कलाकारहरु मोहन, रविन्द्र, रमेश, पवित्रा, आशा, चेत, सुनिल जीवन, उद्धव र समूहको अभिनय रहेको छ । प्रधानमन्त्री ओलीद्वारा रचित सो गीतमा देशको विकास प्रकृयाले गति लिने र सबै नागरिकको जीवन समृद्ध भई नमुुना नेपाल निर्माण हुने आशा र विश्वास व्यक्त गरिएको छ । यसका लागि स्वदेशमै परिश्रम गर्न पनि प्रेरित गरिएको छ ।