राष्ट्रपतिको कार्यकालभर डोनाल्ड ट्रम्पको कुल सम्पत्ति ७० करोड डलरले घटेको ब्लुमबर्गले खुलासा गरेको छ ।

कोभिड–१९ महामारीले उनको सम्पत्तिमा भारी नोक्सान गराएको बताइएको छ । महामारीको अवधिमा ट्रम्पका कार्यालय भवनहरु, ब्रान्डेड होटेल, रिसोर्ट सबैको आम्दानी र तिनको मूल्यमा समेत ठूलो गिरावट आएको हो । त्यस्तै, उनको स्वामित्वमा रहेका विमानहरु र गल्फ कोर्सको कुल मूल्य पनि घटेको थियो । अहिले ट्रम्पमाथि विभिन्न आर्थिक मामिला र उनको पारिवारिक व्यवसायसम्बन्धी अनुसन्धान भइरहेको छ । ब्लुमबर्गले ट्रम्प राष्ट्रपति हुनुअघि र पछि उनको सम्पत्तिमा के–कति भिन्नता आयो भन्ने हिसाब निकाल्न सन् २०१६ मेदेखि जनवरी २०२१ बीचका उनका सबै वित्तीय कागजातहरुको अध्ययन र विश्लेषण गरेको थियो । ट्रम्पको व्यावसायिक घरजग्गाका अकाउन्ट उनको कुल सम्पत्तिको तीनचौथाइ हिस्सा हो । उनको नाममा रहेका तिनै अफिस टावरलगायत भवनहरुको मूल्यमा धेरै ठूलो गिरावट आउँदा कुल सम्पत्ति पनि प्रभावित भएको बताइएको छ । ब्लुमबर्गका अनुसार ट्रम्पको मुख्य व्यावसायिक सम्पत्तिको मूल्य २६ प्रतिशतसम्म घटेको हुनसक्छ । त्यस्तै, ट्रम्पले आफ्नो नामको ब्रान्डका थुप्रै होटेल, रिसोर्टसहित १९ वटा गल्फ कोर्सहरु पनि सञ्चालन गर्ने गर्छन् । महामारीको समयमा गल्फको लोकप्रियता बढे पनि स्कटल्यान्डका उनका दुई गल्फ कोर्सले लगातार पैसा गुमाउनु परेको थियो ।

गएको जनवरीमा अमेरिकी संसद्माथि भएको हमलापछि अमेरिकाको प्रोफेसनल गल्फर्स एसोसिएसन (पीजीए)ले ट्रम्पको न्यु जर्सी गल्फ कोर्समा आयोजना गर्ने भनेको २०२२ गल्फ च्याम्पियनसिप टुर्नामेन्टको सम्झौता रद्द गरेको थियो । त्यस्तै, १९९० को दशकमा कंगाल हुँदा ट्रम्पलाई ऋण दिन तयार एक मात्र बैंकले पनि अब उनीसँग कुनै किसिमको कारोबार नगर्ने बताइसकेको छ । ट्रम्पको नाममा बोइङ ७५७ सहित थुप्रै विमानहरु पनि छन् । तर, ती विमान दशकौँ पुराना हुन् । समयसँगै तिनको मूल्य पनि प्रत्येक वर्ष घट्दै गइरहेको ब्लुमबर्गको रिपोर्टमा देखिएको छ । ट्रम्प राष्ट्रपति हुँदा उनको आर्थिक गतिविधि बारम्बार चर्चामा आइरहने गर्थ्यो । किनकि, उनी कर तिर्ने सम्बन्धमा एकदमै गोप्य रहँदै आएका छन् । तर, गत महिना सर्वोच्च अदालतले उनलाई करसम्बन्धी र अन्य वित्तीय रेकर्डहरु पनि हस्तान्तरण गर्न आदेश दिएको थियो । विगत आठ वर्षदेखि उनका व्यक्तिगत र कर्पोरेट डकुमेन्टहरु प्राप्त गर्ने प्रयास भइरहेको थियो । उनीमाथिको अनुसन्धान पहिले २०१८ मा सुरु भएको थियो । २०१६ को राष्ट्रपति चुनाव अभियानका समयमा उनले अवैध सम्बन्ध राखेका दुईजना महिलालाई चुप गराउन पैसा भुक्तान गरेको खुलासा भएको थियो ।

तर, अझै पनि पूर्वराष्ट्रपतिका रुपमा ट्रम्पले आफूले गुमाएको सम्पत्ति प्राप्त गर्न सक्ने बताइएको छ । उनले मिडियासँग विभिन्न ठूलो सम्झौता गर्न सक्छन् भने आत्मकथा लेख्दा त्यसबाट पनि मनग्य कमाइ गर्न सक्नेछन् । यसअघि, बाराक र मिसेल ओबामाले आफ्नो आत्मकथा किताबका लागि ६ करोड ५० लाख डलर प्राप्त गरेका थिए । बिल क्लिन्टनले २००४ को किताबका लागि एड्भान्समै एक करोड ५० लाख डलर पाएको जनाइएको थियो । ब्लुमबर्गको रिपोर्टमा भने ट्रम्पले राष्ट्रपति पदपश्चात् आफ्नै समाचार च्यानल या सोसल मिडिया प्लेटफर्म खोलेर सबैभन्दा धेरै लाभ उठाउन सक्ने उल्लेख गरिएको छ । जुन उनलाई २०२० मा मत हाल्ने सात करोड ४० लाख मतदाताका लागि आकर्षक हुनसक्छ । उनको कुल सम्पत्ति अहिले २.३ अर्ब डलर रहेको छ । -बीबीसीबाट