विराटनगरः आइतबार प्रदेश नम्बर १ को मन्त्रिपरिषदको बैठक बसेको छ । बैठकले मुख्यमन्त्री शेरधन राईको उपचारका लागि विदेश जान स्वीकृति प्रदान गरेको छ । मुुख्य मन्त्री राई यही कात्तिक १६ गतेदेखि २४ गतेसम्म घाँटीको उपचार गर्न थाइल्याण्ड जान लागेका हुन् । उनको निजी सचिवालयले राई लामो समयदेखि घाँटीको समस्याबाट पीडित भएको जानकारी दिएको छ ।

नेपालमा उपचार सम्भव नभएपछि उनी थप उपचारका लागि विदेश जान लागेका हुन् । सचिवालयले राईको सम्पूर्ण उपचार खर्च निजी स्रोतबाट नै हुने जानकारी दिएको छ । उनी एक वर्षदेखि यो समस्याबाट ग्रसित थिए । उनको नेपालका सरकारी तथा नाम चलेका निजी अस्पतालमा पनि उपचार सम्भव नभएपछि चिकित्सकको आग्रहमा थाइल्याण्ड जान लागिएको निजी सचिवालयले जानकारी दिएको छ ।

आज साँझ साढे ४ बजे बसेको बैठकले कानुन मस्यौदा सुधार समितिको म्याद पनि थप गरेको छ । पूर्वसंविधान सभाका सदस्य समेत रहेका रेवतीरमण भण्डारीको संयोजकत्वमा रहेको समितिको म्याद पुनः ६ महिना थप गरिएको प्रवक्ता एवम् प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिएका छन् । यससँगै आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको आर्थिक योजना कार्यविधि स्वीकृत भएको छ । त्यसैगरी, समाजिक विकास मन्त्रालयले पेश गरेको बालबालिका सम्बन्धमा व्यवस्थान गर्न बनेको विधेयकको मस्यौदालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । त्यस्तै मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकको सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय पनि भएको छ । प्रदेश सामाजिक सुरक्षाको व्यवस्थापन गर्न बनेको विधेयकको स्वीकृति प्रदान गर्ने निर्णय पनि भएको बताइएको छ ।