अमेरिका र चीनका उच्च अधिकारीहरुले एकअर्काको तिव्र आलोचना गरेका छन् । जो बाइडेन राष्ट्रपति निर्वाचित भएपछि पहिलोपटक अमेरिका र चीनबीच भएको वार्तामा दुवै देशका अधिकारी आरोपप्रत्यारोपमा उत्रिएको बीबीसीले जनाएको छ ।

चिनियाँ अधिकारीलेहरुले अमेरिकाले विभिन्न देशहरुलाई चीनमाथि ‘आक्रमण’ गर्न उक्साएको आरोप लगाएका छन् । यस्तै अमेरिकाले चीन पनि सोही रुपमा प्रस्तुत भएको आरोप लगाएसँगै दुवै देशको सम्बन्ध थप तनावपूर्ण अवस्थामा रहेको बताइएको छ । वार्ताका क्रममा अमेरिकाले युगुर मुस्लिममाथि भइरहेको ज्यादतिसहितका विषय उठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आरोप–प्रत्यारोपूर्ण वार्तामा अमेरिकाका तर्फबाट विदेश मन्त्री एन्टोनी ब्लिङ्कन र राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानसहितका अधिकारी सहभागी थिए । यस्तै चीनको तर्फबाट शीर्ष परराष्ट्र नीति अधिकारी याङ्ग जिएची र विदेश मन्त्री वाङ्ग यी सहभागी रहेको बताइएको छ । वार्तामा तिक्तता बढेको खबर आएपनि अमेरिकी अधिकारीले बन्द कोठामा झण्डै दुई घण्टासम्म भएको वार्ता फलदायी उन्मुख भएको दाबी गरेका छन् ।

गोप्य वार्ता पहिले अमेरिकी विदेश मन्त्री ब्लिङ्कनले चीनले शिन्जियाङ्ग, हङकङ तथा ताइवानमा गरिरहेको व्यवहार, अमेरिकामा गरिरहेको साइबर आक्रमण तथा आर्थिक रुपमा भइरहेको बल प्रयोगमा चासो रहेको बताएका थिए । यसले विश्व समुदायलाई नै गम्भीर चेतावनी दिएको उनले भनेका थिए । जवाफमा चिनियाँ प्रतिनिधि याङ्गले अमेरिकाले आफ्नो सैन्य तथा आर्थिक शक्ति अरु देशहरुलाई दबाउन प्रयोग गरेको आरोप लगाए । अमेरिकामा मानवअधिकारको अवस्था अति नै न्यून अवस्थामा रहेको र अश्वेतमाथि निकृष्ठ व्यवहार भएको उनले आरोप लगाए । अमेरिका र चीनका अधिकारीबीच गत जुनयता पहिलो पटक उच्च तहको वार्ता भएको हो । -एजेन्सी