इटहरीः मोरङको बेलबारी नगरपालिका वडा नम्बर ५ मा रहेको निर्माणधीन लोहोन्द्रा खोलाको पुल तथा सिँचाइ आयोजनाको साइफन निमर्णको कामले तिव्रता पाएको छ ।

नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको सुनसरी मोरङ जलस्रोत अनुसन्धान तथा विकास केन्द्रबाट यस खोलामा पुल तथा सिँचाइको लागि नहर निर्माणले तिव्रता पाएको हो । वर्षौँअघि यहाँ बनेको पुल २०७४ सालको बर्खायाममा आएको बाढीले भत्काएपछि यहाँका स्थानीय कष्टकर रुपमा खोला वारपार गर्दै आएका थिए । यसका साथै बाढीले यहाँ रहेको सिँचाइ आयोजनाको नहरलाई पनि ठूलो क्षति पुर्याएको थियो । यसले यस सिँचाइ आयोजनाले सिँचित गर्दै आएको हजारौँ बिघा जमिन सिँचाइविहीन बनेको यहाँका स्थानीय बताउँछन् । यसका साथै खोलामा पुल नहुँदा यातायातका साधन आवातजावातमा पनि समस्या हुने गरेको उनीहरुको भनाइ छ । खोलामा पुल नहुँदा सुगम मानिएको यो ठाउँ केही वर्ष दुर्गम भएको स्थानीय बताउँछन् ।

image2

निर्धारित लक्ष्यभन्दा अगाडि नै निर्माण सम्पन्न गर्नेगरी काम सुरु गरेको यस आयोजनाको कामलाई कोरोना महामारीले प्रभाव पारेको सुनसरी मोरङ सिँचाइ आयोजनाका सब इन्जिनियर रितेश साह बताउँछन् । आयोजनामा अन्डग्राउण्ड सिँचाइको लागि नहर र त्यसमाथि पुल निर्माण गरिनेछ । सिँचाइको नहरको काम लगभग सकिएको र यही जेठमा परीक्षण गरिनेसमेत सब–इन्जिनियर साहले बताए । उनका अनुसार वैशाखमा साइफनको काम सकिने र जेठको सुरुमा नै परीक्षण गरिने भएको हो । यसका साथै यस वर्षसम्म परियोजनाको काम ३० प्रतिशत सकिएको उनले जानकारी दिए । यो आर्थिक वर्षसम्म आयोजनाको काम ६० प्रतिशत् सम्पन्न गर्ने लक्ष्य रहेको साहले बताए । आयोजनाको काम समयमै सक्न कन्स्ट्रक्सने बेलुकाको समयमा समेत काम गर्ने गरेको छ ।

image0

 

वि.सं २०८० साल भदौ ३० गते निर्माण सम्पन्न गर्नेगरी गत वर्षको फागुन अन्तिम अर्थात् २०७६ साल फागुन ३० गते धरानमा रहेको आशीष, स्वामीनारायण, अशीर्वाद जे.भि कन्ट्रक्सनले यो आयोजनाको ठेक्का लिएको बेलबारी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विश्वबन्धु बस्नेतले जानकारी दिए । मुल्य अभिवृद्धि कर (भ्याट) बाहेक यस आयोजनाको कुल लागत २९ करोड ९७ लाख ५६ हजार सात सय ११ रुपैयाँमा निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको उनले जानकारी दिए । समय समयमा अन्य थप काम गर्नुपर्ने भएकाले यसको लागत बढ्नसक्ने उनको भनाइ छ । प्रदेश राजधानी विराटनगरबाट कानेपोखरी गाउँपालिकाको केरौन जोड्ने सडकमा यो पुल बनेपछि पूर्वबाट विराटनगर जाने यात्रुलाई तथा सवारी साधनलाई सहजता हुने छ । यसका साथै यहाँ बनेको सिँचाइ आयोजनाको नहरले यसै क्षेत्रका हजारौँ बिघा खेतियोग्य जमिनलाई पनि फाइदा पुग्नेछ ।