जापानमा मोटोरबाइक चलाएर पोज गर्दै गरेकी एक युवतीका तस्बिरहरु अचानक सामाजिक संजाल प्रयोगकर्तामाझ चर्चामा आउन थाल्यो र ट्वीटरमा मात्र हजारौँ लाइक पाइरहेको थियो ।

तर केही मानिसहरुले उनका तस्बिरहरुमा अनौठा कुरा देखे र त्यसको जाँच गर्न थाले जसपछिको खुलासाले सबैको होस उडाएको हो । ती युवतीलाई फलो गर्ने केही मानिसहरुले एक तस्बिरमा उनका हातमा एकदम धेरै रौँ देखे भने अर्का एकजनाले चाहिँ ऐनामा उनको फरक अनुहार देखिएको कुरा बताए । यसपछि एक टेलिभिजन कार्यक्रमले ती ट्वीटर प्रयोगकर्ता त वास्तवमा युवती नभएर ५० वर्षीय पुरुष भएको खुलासा गरेको हो । जोङ्गु नामक ती व्यक्तिले कार्यक्रममा आफूले फोटो एडिटिङ एपको प्रयोग गरेको स्वीकार गरेका हुन् । कार्यक्रममा जोङ्गुले सामाजिक संजालमा आफ्नो उपस्थिति बलियो बनाउनका लागि त्यस्तो गेको बताएका छन् । उनका अनुसार मानिसहरुले बाइकको अगाडि बूढो अंकल भन्दा पनि सुन्दर युवती हेर्न रुचाउने विश्वासमा उनले त्यस्तो गरेका हुन् । उनले भने, “कसैले पनि एक मध्यम उमेरको पुरुषले मोटरसाइकल अगाडि तस्बिर खिचेर पोस्ट गरेको कुरा पढ्दैन या हेर्दैन ।” यसरी एडिटिङ एप जस्तै फेसएपबाट प्राप्त नतिजाले पहिले त आफैँ आश्चर्य चकित भएको पनि उनले बताए ।

उनले भनेका हुन्, “मैले पहिलोचोटी प्रयास गर्दा यसले मलाई एकदम सुन्दर महिला जस्तो देखायो । मैले त्यसमा एक हजार बढी लाइक पाएँ । यो भन्दा अगाडि मलाई १० वटा लाइक मात्र आउँथ्यो । यसले मलाई हौसला दिलायो र मैले बिस्तारै अझ धेरैवटा राम्रा र आकर्षक तस्बिरहरु पोस्ट गर्दै गएँ ।” जोङ्गुको यो ठूलो खुलासाप्रति उनका १९ हजार फलोअरहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनका एक प्रशंसकले लेखे, “तपाईँको टिभी शो हेरेपछि म तपाईँको फ्यान भएँ ।” अर्काले लेखेका हुन्, “तपाईँसँग उत्कृष्ट क्षमता छ ।” फेसएप जस्ता एडिटिङ सफ्टवेयरहरले प्रयोगकर्ताको बाहिरी आकृति र अनुहारमा अनेकौँ परिवर्तन ल्याउन सक्छ । जस्तै यसमार्फत हामीले आफ्नो तस्बिरलाई युवा या वृद्ध जस्तो देखाउन सक्नेछौँ । तरय सअघि अमेरिकाको एफबीआइले यो टुलले गोपनीयताको अधिकार उल्लंघन गरिरहेकाबारे चेतावनी दिएको थियो र रुसले विभिन्न ढङ्गमा दुरुपयोग गर्नका लागि यो एप निर्माण गरेको दाबी गरेको थियो । -बीबीसीबाट