विराटनगरः इन्धनमा प्रतिलिटर २२ रुपैयाँ मूल्य अन्तर भएका कारण नेपालबाट भारततर्फ तस्करीको क्रम बढेको छ । नेपाल–भारत खुला सीमाको फाइदा लिँदै तस्करहरूले विभिन्न माध्यमबाट पेट्रोलियम पदार्थको तस्करी गर्न थालेका हुन् ।
भारतीय सीमावर्ती क्षेत्रसम्म नेपालका पेट्रोल पम्पबाट ड्रम र जर्किनमार्फत् इन्धन पु¥याउँदै आएका तस्करमाथि नेपाल र भारतमा कडाइ गरिए पनि नयाँ जुक्ति लगाएर इन्धन तस्करी हुने गरेको छ ।
भारततर्फ पेट्रोलियम पदार्थको तस्करी बढेपछि गत भदौ महिनादेखि नेपालमा कडाइ गरिएको थियो । ड्रम र जर्किनमा इन्धन भर्न नपाइने र भारतीय नम्बर प्लेट भएका ठूला सवारीलाई ५० लिटर र साना सवारीलाई १५ लिटर मात्रै इन्धन दिने नियम लागू गरिएको थियो । तर, तस्करीको नयाँ जुक्ति लगाउँदै मालवाहक ट्रकका ट्याङ्की भरेर इन्धन तस्करी हुन थालेको हो ।
दशैंको समयमा ड्रम र जर्किनमा नै तस्करी भएको इन्धनको अरु बेला भने मालवाहक ट्रकका ट्याङ्कीमा भरेर तस्करी हुने गरेको बताइन्छ । नेपाल र भारतका समेत कारोबारीले सीमा कटाउन विभिन्न जुक्ति लगाउँदै आएको नेपाल आयल नियम सञ्चालक समितिका सदस्य अरबिन्द अग्रवालको दाबी छ ।
जर्किन र ड्रममा हुने तस्करीभन्दा बढी भारतीय नम्बर प्लेट भएका मालवाहक सवारीमार्फत् इन्धन भारततर्फ जाने गरेको बताइन्छ । नेपालमा भन्दा भारतमा डिजेल र पेट्रोलको मूल्यमा २२ रुपैयाँ प्रतिलिटरको अन्तर छ । कारोबारीले इन्धन तस्करीका लागि सीमावर्ती क्षेत्रका पम्पहरूलाई बढी प्रयोगमा ल्याउने गरेका छन् ।
गत भदौमा नेपाल र भारतीय प्रशासनबीच इन्धनको कालोबजारी रोक्ने सहमति भएपछि ड्रम र जर्किनबाट इन्धन तस्करीको क्रम रोकिएको थियो । भदौमा नेपालमा भन्दा भारतमा इन्धनमा ३० रुपैयाँको फरक थियो ।
भारतबाट नेपालमा मालसामान बोकेर आएका ट्रकहरूले प्रत्येक पेट्रोल पम्पबाट ५० लिटरका दरले इन्धन भर्ने र सीमा कटाउने गरेका छन् । नियम र कानुनको परिधिमै बसेर इन्धन भर्ने मालवाहक ट्रकमा भरिएको इन्धन भने भारतमा बिक्री हुने गरेको बताइन्छ ।
अग्रवालका अनुसार उनीहरूले आफैं प्रयोग गर्नेदेखि बिक्री गर्ने प्रयोजनसम्मका लागि नेपालमा इन्धन भराउने गरेका छन् । जोगबनी नाका हुँदै भारत जाने ट्रकका ट्याङ्की भरेर प्रतिदिन २ सयदेखि २ सय ५० वटासम्म मालवाहक ट्रक भारत जाने गरेका छन् ।
सुनसरी–मोरङ औद्योगिक करिडोरमा २२ वटा पेट्रोल पम्प रहेका छन् । मालवाहक ट्रकलाई सीमा क्षेत्रमा निगरानी र चेक गर्नुपर्ने आवश्यकता रहेको भन्दै अग्रवालले जर्किन र ड्रमबाट हुने तस्करी सामान्य मात्रै रहेको जनाए । उनका अनुसार मुख्य नाकाबाट ड्रम र जर्किनमा तस्करी हुनै नसक्ने भए पनि सहायक नाकामा अझै सम्भावना रहेको छ । उनका अनुसार रङ्गेली, कप्तानगञ्ज, देवानगञ्ज र सप्तरीको भन्टाबारीबाट जर्किन र ड्रममा इन्धन तस्करी हुन सक्ने सम्भावना छ । मुख्य नाका जोगबनीबाट दैनिक मालवाहक ट्रकका ट्याङ्कीबाट इन्धन तस्करी हुने गरेको छ ।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख दिनेश यादवले त्यसरी तस्करी हुने भन्ने उजुरी कतैबाट नआएको बताए । उनका अनुसार भारतको अररिया जिल्ला र मोरङ जिल्लाका प्रशासकबीच भएको सहमतिअनुसार अहिले तस्करी रोकिएको छ । प्रमुख यादवका अनुसार कुनै पनि डिलरले बदमासी गरेको भन्ने उजुरी नपरेकाले इन्धन तस्करी हुन्छ भन्ने आफूलाई नलागेको बताए ।
इन्धनको कालोबजारीमा सहयोगी बनेर पम्पहरूले बिक्री गरेको पाइएमा नेपाल आयल निगमले त्यस्ता पम्पलाई इन्धन उपलब्ध नगराउने र कोटा काट्न सक्नेसम्मको कारवाही गर्न सक्ने उनको भनाइ छ । अनुमानकै भरमा भने दोष लगाउन नमिल्ने उनले जनाए ।
१ तस्कर पक्राउ
दशैंको मौका छोपेर इन्धनको तस्करीमा संलग्न रहेका जहदा गाउँपालिका–१ का सुनिल सरबरियालाई गत हप्ता प्रहरीले नियन्त्रणमा लिएको थियो । विराटनगर–१८ बाट नियन्त्रणमा लिइएका सरबरिया को १४ प ७७१० नम्बरको मोटरसाइकलमा जर्किनमा बाँधेर भारततर्फ डिजेल लैजाँदै थिए । उनलाई भन्सार कार्यालय विराटनगरले १ लाख ६ हजार रुपैयाँ धरौटीमा छोडेको छ । यसैगरी सुनसरीको सीमावर्ती घुस्कीमा भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा बाँधेर लैजाँदै गरेको चार जर्किन डिजेल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।